फिल्म । गएको माघ १६ गतेदेखि प्रदर्शन भएको फिल्म ‘आ बाट आमा’ ले रु ११ करोड २४ लाख ६ हजार ९६९ कमाई गरेको छ । मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त फिल्मका लागि कुल ४ लाख २३ हजार १११ टिकट बिक्री भएका छन् ।
चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्मको गएको फागुन ९ गते शनिवारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो ।
अभिनेता पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा दर्शकको राम्रो साथ पाएको छ । यो फिल्म पल शाहको करिअरमा दोस्रो सर्वाधिक कमाउने फिल्म बन्ने देखिएको छ । यसअघि पल शाह अभिनित फिल्म ‘शत्रु गते’ ले १२ करोड ६५ लाख ८२ हजार रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
हाल प्रदर्शनरत केही फिल्मले चुनावको कारण देखाउँदै प्रदर्शन स्थगित गरेपछि त्यसको फाइदा चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ लाई पुगेको देखिन्छ । अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले फिल्ममा अभिनय गरेका छन् ।











