फिल्म । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को दोस्रो दिन शुक्रबार बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी र अभिनेता राजेश हमाल बीच ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। उक्त सत्रमा निर्देशक सिप्पीले फिल्म ‘शोले’ निर्माणका अनुभवबारे खुला रूपमा चर्चा गरे ।
लेखक जोडी सलिम-जावेदले आफूलाई फिल्म निर्देशनको जिम्मेवारी दिनुको कारणबारे उनले भने, ‘उनीहरूसँग एउटा सानो आइडिया थियो, जुन सुरुमा अरु कसैका लागि सोचिएको थियो । तर त्यो मेरो शैलीसँग मेल खाने देखेपछि मलाई प्रस्ताव गरियो । उनीहरूले एक आर्मी अफिसर र दुई अपराधीहरूको कथा सुनाए र हामीले मिलेर सबै तत्व समेटिएको स्क्रिप्ट तयार गर्यौं ।’
कार्यक्रममा महानायक हमालले ‘शोले’ का पात्र मात्र होइन, घोडाको नामसम्म दर्शकलाई याद रहने गरी निर्माण गरिएको भन्दै निर्देशक सिप्पीको प्रशंसा गरे।निर्देशक सिप्पीका अनुसार स्क्रिप्ट तयार भएको ६ महिनामै छायांकन सुरु गरिएको थियो । सन् १९७३ अक्टोबर २ मा एक करोड बजेटमा सुरु गरिएको फिल्म निर्माणको क्रममा बढ्दै जाँदा करिब तीन करोड रुपैयाँ पुगेको उनले बताए ।
‘मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको थियो’, उनले भने । कार्यक्रमका क्रममा हमालले ‘यदि यो फिल्म असफल भएको भए के हुन्थ्यो ?’ भन्ने प्रश्न गर्दा सिप्पीले हाँस्दै जवाफ दिए, ‘म यहाँ (निफमा) हुँदैन थिएँ ।’
करिब एक घण्टासम्म चलेको संवाद कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । निफको तेस्रो दिन शनिबार सिभिल मल, छाया सेन्टर, रसियन हाउस र नेपाल पर्यटन बोर्डमा विभिन्न गतिविधि सञ्चालन हुनेछन् । विभिन्न स्थानमा फिल्म स्क्रिनिङसँगै पर्यटन बोर्डमा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।










