‘उकाली ओराली गर्दै’ काठमाडौँमा गुञ्जिए सोनु

सङ्गीत । नेपाली टच नेपालद्वारा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ मा बुधवार गायक सोनु निगम नेपालमा गुञ्जिएका छन् । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाएका सोनु ‘उकाली ओराली गर्दै’ गीत गुनगुनाउँदै स्टेजमा उक्लिए । भारतबाटै आएका आफ्नो २१ जना साङ्गीतिक समूहसँग गायक निगमले झन्डै साढे दुई घण्टा प्रस्तुती दिदा उनले आफ्नो मेलोडियस भ्वाइसले दर्शकलाई सँगै नचाउँन सफल भए ।

नेपाली गीत गाइरहेता पनि यसरी साक्षात्कार गर्ने मौका भने पहिलोपटक पाएको उनले स्टेजबाट नै बताए । ‘नेपाली सत्कारको लागि मात्र सुरका पनि धनी छन् । यहाँ मलाई गाएर साथ दिने स्वरहरू सुरिला सुनिएका छन् । यस्ता दर्शक देख्दा मलाई उर्जा प्राप्त हुन्छ । म निकै खुसी छु, यहाँ आएँ र गाईरहेको छु’, सोनुले भने ।

एअर इन्डियाको विमानमार्फत वुधवार २ बजेर ३३ मिनेटमा नेपाल ओर्लिएका गायक निगम विमानस्थलमै पत्रकार सम्मेलन गरेर सिधै कार्यक्रमस्थलमा पुगेर केही अभ्यास गरेका थिए । बाल्यकालदेखि नै व्यावसायिक रुपमा गायन यात्रा सुरू गरेका गायक निगमले आफूले स्टेजमा गाउँन थालेको ‘४७ वर्ष’ पुगेको बताए । शास्त्रीय सङ्गीतमा विशेष दखल भएका गायक निगमलाई सन् १९९७ मा प्रदर्शन भएको चलचित्र ‘बोर्डर’ मा समावेश गीत ‘सन्देशे आती है’ ले पार्श्वगायनमा स्थापित गरेको थियो ।

‘सुरज हुवा मधम’, ‘सोनियो ओ सोनियो’, ‘कहानी’ लगायतका गीतमार्फत सोनुसँगै गुनगुनाउन थालेका दर्शकले ‘दिल मागता है दिलदार सोनिए’, ‘साथिया’, ‘दिल दिवाना’, ‘देखा तुमको जबसे’, ‘दिल डुबा’ जस्ता गीत गाउँदा नाचेर साथ दिए । कार्यक्रमको उतरार्धमा सोनुले आफ्ना सदाबहार गीतहरू ‘कल होना हो’, ‘अभि मुझ्मे कही’, ‘सन्देशे आते है’, ‘पापा मेरी जान’ गाउँदै नेपालीसँग विदा मागे ।

‘यहाँ आउन ढिलाई भयो तर यो सत्कारले अब मलाई पुनः छिटै यहाँ ल्याउने छ । हामी कलाकारलाई पनि माया गर्ने प्रसंशक चाहिन्छ, त्यो न्यानोपन यहाँ काठमाडौँ नेपालमा पाएँ । म धन्य छु, कृतज्ञ छु’, उनले भने । कार्यक्रम हेर्न दश हजार दर्शक ह्यात चौरमा उपस्थित रहेको आयोजकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्