देश । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको हो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको उम्मेदवार घोषणा सम्बन्धी प्रस्ताव पेश गरेका थिए, जसलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति शर्माले प्रस्ताव पारित भएको जानकारी दिए । उनका अनुसार सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नुपर्ने सातवटा कारण प्रस्तावमा समेटिएका छन् । उपसभापति शर्माले यस निर्णयलाई मुलुकको ‘विशिष्ट परिस्थितिको माग’ का रूपमा व्याख्या गरे । ‘सामान्यतया निर्वाचनपछि मात्रै प्रधानमन्त्री पदका लागि व्यक्ति अघि सार्ने प्रचलन रहिआएको छ । तर नेपाली कांग्रेसले चुनावी अभियानकै क्रममा उम्मेदवार सार्वजनिक गर्नु मुलुकको वर्तमान अवस्थालाई सही ढंगले सम्बोधन गर्ने प्रयास हो,’ प्रस्तावमा उल्लेख छ ।
प्रधानमन्त्रीको उम्मेदवार निर्वाचनअघि नै घोषणा गर्दा मतदातालाई भविष्यको अन्योलताबाट मुक्त गराउने उद्देश्य रहेको पनि प्रस्तावमा उल्लेख गरिएको छ ।उपसभापति शर्माका अनुसार जेन–जी आन्दोलनपछिको परिवर्तनलाई आत्मसात गर्दै त्यसका मुद्दालाई स्वामित्व लिएर मुलुकमा सुशासन स्थापित गर्ने संकल्प र योजना कांग्रेसको विशेष महाधिवेशनले लिएको छ । सभापति थापाले परिवर्तित समय र जनभावनालाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्न सक्ने विश्वास पार्टीले लिएको शर्माले बताए ।
प्रस्तावमा चौथो कारणका रूपमा प्रधानमन्त्रीमा आवश्यक परिपक्वता सभापति थापामा रहेको उल्लेख गरिएको छ । ‘जुझारु र विद्रोही छविसँगै प्रतिकूल परिस्थितिमा संयम कायम राख्दै विषयवस्तुलाई परिपक्व ढंगले समाधान गर्न सक्ने क्षमता गगन थापासँग छ,’ प्रस्तावमा भनिएको छ । ‘उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हुन्छ न त दीर्घकालीन। देशको प्रधानमन्त्री बन्ने व्यक्तित्वले आवेग होइन, संयम र सौम्य प्रवृत्तिलाई प्राथमिकता दिनुपर्छ,’ प्रस्तावमा उल्लेख छ ।
त्यसैगरी, सभापति थापा विगतको लोकतान्त्रिक संघर्षमा सबल र त्यसपछिको सत्ता अभ्यासमा समेत सक्षम रूपमा प्रमाणित भइसकेको नेताका रूपमा स्थापित भएको दाबी पनि प्रस्तावमा गरिएको छ ।








