देश । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न सबैमा अपिल गर्नुभएको छ । त्रिभुवन माध्यमिक विद्यालय बलेवा, बागलुङले बिहीबार आयोजना गरेको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र होइन, सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यका लागि मुलुकलाई निकास दिन निर्वाचन नै सर्वोत्तम उपाय भएको उल्लेख गर्नुभयो।
‘हामीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट जनताप्रति दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्व अपेक्षा गरेको छ’, उहाँले भन्नुभयो,‘यो कुरा हामीले बिर्सनु हुँदैन।’
राष्ट्रपति पौडेलले जनताको हित र सेवालाई केन्द्रमा राखी सुशासनमार्फत भ्रष्टाचार, ढिलासुस्ती, विकृति र विसङ्गतिको अन्त्य गर्दै विकासको गतिलाई तीव्र बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले जनचाहनाअनुसार सुरक्षित भविष्य सुनिश्चित गर्न निर्वाचन नै वर्तमान समयको सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
‘सुन्दर र सुरम्य धौलागिरिको यस पवित्र भूमिबाट म पुनः एकपटक आम नेपाली जनतालाई निर्वाचन सफल बनाउन आह्वान गर्दछु’, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिक दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समन्वय र सहकार्यका माध्यमबाट निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिनुभयो।
युवाहरू शिक्षा र रोजगारीका लागि विदेश पलायन हुने समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै उहाँले शिक्षामा लगानी बढाई स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नवीन आयाम विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बदलिँदो विश्व सन्दर्भमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको महत्त्व बढ्दै गएको भन्दै राष्ट्रपति पौडेलले विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीपसँगै संस्कार र शिक्षासँगै राष्ट्रप्रेम विकास गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रको भविष्य निर्माणको मुख्य आधार शिक्षा भएको उल्लेख गर्दै उहाँले कृषिको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणमा टेवा पुग्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । अन्त्यमा, जहाँनिया राणा शासनविरुद्ध चेतना जागृत गर्दै परिवर्तनको दियो बाल्ने अग्रजहरूको योगदान स्मरण गर्दै राष्ट्रपति पौडेलले जिल्लाकै दोस्रो पुरानो त्रिभुवन माध्यमिक विद्यालयले नेपालको शैक्षिक इतिहासमा गौरवमय पहिचान बनाएकोमा खुशी व्यक्त गर्नुभयो ।








