बंगलादेशमा डब्बुको ‘द चेन्ज’ पुरस्कृत

फिल्म । बंगलादेशको बोगरा सहरमा सम्पन्न ‘छैटौँ बोगुरा अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा नेपाली लघु फिल्म ‘द चेन्ज (परिवर्तन)’ र नेपाली वृत्तचित्र फिल्म ‘तान्त्रिक डान्स’ पुरस्कृत भएका छन्। पुण्ड्रनगर फिल्म सोसाइटी बोगराको आयोजनामा मधुवन सिनेकम्प्लेक्समा तीन दिनसम्म चलेको महोत्सवमा ३२ देशका ७४ फिल्म सहभागी थिए। तीमध्ये नेपालबाट तीन लघु फिल्म र एक वृत्तचित्र फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका थिए ।

गीतकार तथा सञ्चारकर्मी डब्बु क्षेत्री निर्देशित लघु फिल्म ‘द चेन्ज’ ‘इन्टरनेशनल सर्ट इन्डोर’ विधाअन्तर्गत छनोट हुँदै ‘अनरेबल मेन्सन अवार्ड’बाट सम्मानित भएको हो। फिल्मका निर्देशक डब्बु क्षेत्रीसहित अभिनेता प्रवण भुसाल, अभिनेत्री तथा गायिका सरिता भारती र मेकअप आर्टिस्ट बिना राना मगर महोत्सवमा सहभागी भएका थिए। समापन समारोहमा निर्देशक क्षेत्री, अभिनेता प्रवण र अभिनेत्री सरिताले अवार्ड ग्रहण गरेका हुन्।

‘द चेन्ज’ फिल्ममा प्रवण भुसाल र सरिता भारतीसँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा र सुरज अधिकारीलगायतको मुख्य भूमिका रहेको छ।त्यसैगरी, फिल्म निर्देशक केपी पाठकद्वारा निर्देशित वृत्तचित्र फिल्म ‘तान्त्रिक डान्स’ पनि अन्तर्राष्ट्रिय विधातर्फ ‘अनरेबल मेन्सन अवार्ड’बाट पुरस्कृत भएको छ। कात्तिक नाचमा आधारित उक्त वृत्तचित्र फिल्मलाई महोत्सवको उद्घाटन समारोहमा बंगलादेश प्रिमियर गरिएको थियो।

बुधबारदेखि सुरु भएको महोत्सव शनिबार राति अवार्ड वितरण समारोहसहित सम्पन्न भएको हो। महोत्सवका निर्णायक मण्डलमा नेपाल इन्टरनेशनल कल्चरल फिल्म फेस्टिबलका अध्यक्ष सन्तोष सुवेदीसहित निर्माता मोहम्मद रकिबुल हसन, निर्देशक खण्डेकर सुमन, फिल्मकर्मी अन्तु आजाद, छायाँकार शेख राजिबुल इस्लाम, निर्माता राजिबुल हुसेन र जीवन शाहदत रहेका थिए।

महोत्सवमा नेपालसहित भारत, रुस, सिंगापुर, स्पेन तथा बंगलादेशका फिल्मकर्मीहरूको सहभागिता रहेको थियो। यस अवसरमा आधा दर्जन अन्तरक्रिया तथा मास्टर क्लाससमेत सञ्चालन गरिएको थियो। समापन समारोहमा महोत्सव निर्देशक सुपिन बर्मनले बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सवमध्ये यो दोस्रो ठूलो महोत्सव भएको बताए। महोत्सव अध्यक्ष एम. रहमान सागरले सरकारी आर्थिक सहयोग नहुँदा पनि निरन्तर रूपमा महोत्सव आयोजना गर्दै आएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्