फिल्म । दिनेश राउतद्वारा निर्देशित फिल्म ‘महाभोज’ को ट्रेलर सार्वजनिक भएसँगै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । ट्रेलरको लोकप्रियतासँगै विदेशमा पनि फिल्म रिलिजको माग बढ्न थालेको छ । यसअघि नै जापान, मध्यपूर्व र अस्ट्रेलियामा रिलिज हुने तय भएको ‘महाभोज’ अब बेलायत र कोरियामा पनि प्रदर्शन हुने भएको छ । निर्देशक दिनेश राउतले अन्य धेरै देशबाट पनि रिलिजका लागि माग आइरहेको जानकारी दिए ।
‘महाभोज’ को ट्रेलरले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि पीडित भएकाहरूको कारुणिक कथालाई प्रस्तुत गरेको छ । यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
हिमाल कडरिया निर्माता रहेको यो फिल्म क्लकवर्क क्रियशन र पिक्चर फ्रेमको प्रस्तुति हो । विकास सुवेदीले लेखेको ‘महाभोज’ जेठ १५ गते नेपालसँगै विश्वका अन्य केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ ।











