फिल्म । भारत इतिहासमै सर्वाधिक लोकप्रिय मानिने कालजयी फिल्म ‘शोले’ पुनः सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । सन् १९७५ मा सार्वजनिक भएको यस फिल्मले ५० वर्ष पूरा गरेको अवसरमा ‘शोले : द फाइनल कट’ नामक नयाँ संस्करण रिलिज गर्न लागिएको हो । नयाँ संस्करण सन् २०२५ डिसेम्बर १२ (मङ्सिर २६) मा विश्वभरका हलमा प्रदर्शन हुनेछ । निर्माण पक्षले शुक्रबार फिल्मको नयाँ ट्रेलर सार्वजनिक गर्दै ‘ओरिजिनल अनकट’ भर्सन पहिलो पटक हलमा ल्याउन लागिएको जानकारी दिएको छ ।
दर्शकलाई उत्कृष्ट अनुभव दिलाउन फिल्मलाई ‘फोर-के’ रिजोलुसनमा पुनर्स्थापना गरिएको छ भने ध्वनि गुणस्तर ‘डल्बी ५.१’ मा अपग्रेड गरिएको छ । फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खानजस्ता दिग्गज कलाकारको दमदार अभिनय रहेको छ । फिल्मका पात्रहरू प्रदर्शन भएको पाँच दशकपछि पनि दर्शकको मनमा गढिएका छन् ।
५० वर्षको अवसर पारेर पुराना र नयाँ दुवै पुस्तालाई हलमा पुनः यो क्लासिक फिल्म देखाउन पाउनुभएकोमा निर्माण पक्षले खुसी व्यक्त गरेको छ । आधुनिक प्रविधिसहित तयार गरिएको ‘फाइनल कट’ संस्करणले फेरि एक पटक दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
यस संस्करणको मुख्य आकर्षण फिल्मको मूल अन्त्यको पुनर्स्थापना हो । ‘फाइनल कट’ मा ठाकुर (सञ्जीव कुमार) ले गब्बर सिंह (अमजद खान) लाई मार्दै कथा समाप्त हुन्छ । सन् १९७५ को संकटकालको समय सेन्सर बोर्डको कडा नियमका कारण तत्कालीन रूपमा कानुन हातमा लिन नहुने भन्दै मूल अन्त्य हटाइयो र प्रहरी आएर गब्बरलाई पक्राउ गर्ने दृश्य राखिने बाध्यता थियो । निर्देशक रमेश सिप्पीले त्यसबेला परिस्थितिको चापका कारण फिल्मको अन्त्य परिवर्तन गर्नुपरेको बताएका छन् ।










