फिल्म । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक सन्देश व्यक्त गरेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीप्रति सामाजिक सञ्जालमा चर्को बहस भइरहेका बेला गिरीको टिप्पणी आएको हो ।
गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी पनि नेपाल हाँसेकै हेर्न चाहन्छौँ, त्यसैले दुश्मन हँसाउने काम नगर है साथी हो! शुभप्रभात !!’। उनको यो अभिव्यक्तिलाई रास्वपाको पछिल्लो निर्णयप्रति गरिएको व्यङ्ग्यका रूपमा हेरिएको छ ।
यसअघि गिरीले आगामी निर्वाचनमा नयाँ शक्तिलाई समर्थन गर्ने संकेत गर्दै आएका थिए । त्यसै सन्दर्भमा आएको उनको पछिल्लो टिप्पणीलाई अर्थपूर्ण र महत्वपूर्ण रूपमा विश्लेषण गरिएको छ ।
पछिल्लो समय रास्वपाले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीलाई लिएर सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै देखिएको छ । गिरी सामाजिक सञ्जालमा आफ्ना धारणा प्रस्ट र व्यङ्ग्यात्मक शैलीमा राख्ने कलाकारका रूपमा चिनिन्छन्, जसका अभिव्यक्तिले प्रायः चर्चा पाउने गरेको छ ।











