कलाकारको नाम र फोटो दुरुपयोग गर्दै अनलाइन ठगी बढ्दो

फिल्म । कलाकारको नाम र फोटो दुरुपयोग गर्दै ह्वाट्सएप र भाइबरमार्फत पैसा माग्ने ठगीका घटना पछिल्लो समय बढ्दै गएका छन् । चर्चित कलाकार तथा संगीतकर्मीहरूका नाममा नक्कली अकाउन्ट बनाएर प्रशंसकलाई सन्देश पठाई रकम माग्ने गतिविधि सक्रिय भएको हो । अभिनेता दयाहाङ राई, अनमोल केसी, धीरज मगर, केकी अधिकारी, स्वस्तिमा खड्कासहित गायक जोन राईलगायत कलाकारहरूले यस्ता ठगीका प्रयासका स्क्रिनसट सार्वजनिक गर्दै आफ्ना प्रशंसकलाई सचेत रहन आग्रह गरेका छन् ।

अभिनेता अनमोल केसीले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै आफूले कसैलाई फोन वा मेसेज गरेर पैसा नमागेको स्पष्ट पारे । उनले यस्ता सन्देशलाई बेवास्ता गर्न र तत्काल ब्लक गर्न आग्रह गरेका छन् । अनमोलले ठगी प्रयासका क्रममा पैसा पठाउन आग्रह गरिएको स्क्रिनसटसमेत सेयर गरेका छन् ।

यसैगरी, दयाहाङ राईले पनि सबैलाई सावधान रहन अनुरोध गर्दै लेखेका छन्, ‘सबै साथीहरू तथा इष्टमित्रहरू सावधान रहनुहोला । मेरो नाम प्रयोग गरेर पैसा मागिरहेको रहेछ, त्यो सत्य होइन, स्क्याम हो ।’

यसअघि पनि धीरज मगर, आकाश श्रेष्ठ, केकी अधिकारी, स्वस्तिमा खड्कालगायत कलाकारहरूको नाम र फोटो प्रयोग गरेर पैसा मागिएको ठगीका घटना सार्वजनिक भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्