क्यारेक्टर बलियो बनाउन वर्कशपमा अनमोल

फिल्म । अभिनेता अनमोल केसी अहिले आफ्नो क्यारेक्टर निर्माणका लागि मेहनत गरिरहेका छन् । छायांकनमा जाने फिल्म ‘छड्के २’ मा ग्याङ्गस्टरको भूमिकामा देखिन लागेका अनमोल यतिबेला क्यारेक्टरमा डुब्न वर्कशपमा छन् । आफ्नो क्यारेक्टरलाई लिएर अनमोलले गरेको यसकिसिमको मेहनत संवत पहिलो हो । लभरब्वाईको भूमिका मार्फत दर्शकको प्रिय बनेका अनमोल यसपटक आफ्नो अभिनय क्षमता प्रस्ट्याउने तयारीमा छन् ।

उनको मेहनत देखेर फिल्म युनिट दंग छ । लेखक तथा निर्देशक निगम श्रेष्ठले अनमोल स्टारसँगै राम्रो कलाकार पनि भएको बताए । ‘वर्कशपमा क्यारेक्टरलाई जीवन्त बनाउन अनमोलले गरेको मेहनत तारिफ योग्य छ । हामीले सोचे भन्दा बढी उनी क्यारेक्टर निर्माणलाई लिएर गम्भीर छन्’ निगमले भने । निर्माता मध्येका एक प्रशान्त गिरी पनि स्टारसँगै कलाकार पाउँदा दंग छन् ।

‘हामीले फिल्ममा खोजे झैँ स्टार र कलाकार पाएका छौँ । निर्माताको रुपमा म ब्राण्ड भ्यालू बढाउँन जति तत्पर छु , कलाकारहरु उत्तिकै मेहनती छन्’ उनले भने । फिल्ममा गिरीसँगै लक्ष्मण काफ्ले निर्माता रहेका छन् । काभ्रे फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ६० दिन राखिएको छ । ‘हामीले साउन २५ बाटै छायांकन गर्ने तयारी गरेता पनि मौसम अनुकुल नहुँदा एक साता ढिला गर्दै भदौ १ गतेबाट छायांकन गर्नेछौँ । त्यहि समयमा हामी बाँकी कलाकार चिनाउने छौँ’ निर्माता गिरीले भने ।

फिल्ममा अनमोलसँगै रविन तामाङ , कमल मणि नेपाल लगायतको अभिनय रहने छ । छड्केको ब्राण्ड खस्किन नदिन निर्देशकसँगै लेखक रहेका निगम अहिले कलाकारहरुलाई वर्कशप गराईरहेका छन् । उनी अनमोलले क्यारेक्टर निर्माणको लागि गरिरहेको मेहनतले आफूलाई उर्जा मिलेको बताउछन् । ‘अनमोलको स्टार भ्यालु त भन्नै परेन । साथै उनी राम्रा कलाकार हुन् भन्ने तथ्य छड्के २ ले प्रमाणित गर्नेछ’ उनले भने ।

फिल्मको ब्राण्ड भ्यालुलाई खस्किन नदिन निर्माताको पक्षबाट कुनै सम्झौता गरिएको छैन। निर्देशक र कलाकारलाई चाहिने सम्पूर्ण कुराहरु उपलब्ध गराएका छौँ। बाँकी कलाकार सहित टिमलाई छायांकन प्रारम्भ भएसँगै परिचित गराउने छौँ’ निर्माता गिरीले भने ।

कमेन्ट गर्नुहोस्