यसकारण फूलपातीमा प्रदर्शन हुँदैछ ‘अभिमन्यु : च्याप्टर १’

फिल्म । नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते प्रदर्शन हुने भएको छ । यसअघि भदौ २७ गते रिलिज हुने तय भएको यो फिल्म जेनजी पुस्ताको आन्दोलनका कारण प्रदर्शनका कारण स्थगित भएको थियो । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन मिति सरेर असोज १३ मा पुगेको हो ।

फिल्म निर्माण कम्पनि सेभेन सिज नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ २७ गते प्रदर्शनको मिति तय भए पनि परिस्थितिका कारण हामीले प्रदर्शन स्थगित गरेका थियौँ । तर, देशमा भएको सकारात्मक परिवर्तनलाई ध्यानमा राख्दै नेपाली फिल्म उद्योगलाई गतिशील बनाउने उद्देश्यले हामीले नयाँ मिति घोषणा गरेका छौँ । यो फिल्म नेपाली भाषामा असोज १३ गते फूलपातीको दिनदेखि देशभर र विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ ।’

हिन्दी भाषामा भने यो फिल्म असोज १७ गतेदेखि भारतलगायत विश्वभर प्रदर्शन हुनेछ । निर्माता विनोद पौडेलले भदौ २७ को प्रचारमा ठूलो बजेट खर्च भइसकेकाले लामो समय दर्शकलाई पर्खाउन नसकिने बताए । उनले भने, ‘हामीले सोचविचार गरेर फूलपातीमा प्रदर्शन गर्ने निर्णय गरेका हौँ । कसैसँग जुध्ने उद्देश्य हाम्रो होइन । धेरै पछाडि धकेल्ने अवस्था पनि छैन । भदौ २७ मा सोलो रिलिजको अवसर पाएका थियौँ, तर परिस्थितिले असोज १३ मा ल्याइपुर्‍यायो । सरसल्लाहमै यो मितिमा आएका हौँ।’

उनले विदेशमा समेत शो बुक भइसकेकाले मिति धेरै पर सार्न नसकिएको स्पष्ट पारे । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलको मुख्य भूमिका छ । सुशान्त गौतमले निर्देशन गरेको यो फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने कथा मुकेश खनालले लेखेका छन् ।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेका छन्। शरद महतोको छायांकन रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्