मार्चमा आउनेछ ‘धुरन्धर’ को सिक्वेल

फिल्म । रणवीर सिंह अभिनित भारतीय फिल्म ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गर्दै दर्शकमाझ बलियो उपस्थिति जनाइरहेको छ । फिल्मले गएको आइतबार मध्यान्हसम्म नेपालमा ७ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यसले उक्त फिल्मको नेपालमा रहेको लोकप्रियता प्रस्ट्याउँछ । नेपाली बजारसँगै विश्वव्यापी बक्स अफिसमा पनि ‘धुरन्धर’ ले उल्लेखनीय सफलता हात पार्दै तहल्का मच्चाइरहेको छ।

फिल्मका कलाकार र गीतहरू यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चामा छन् । विशेषगरी, ‘रहमान डकैत’ को भूमिकामा देखिएका अभिनेता अक्षय खन्नाको ‘हुक स्टेप’ दर्शकमाझ निकै भाइरल भइरहेको छ । फिल्ममा रणवीर सिंहसँगै अक्षय खन्ना, संजय दत्त र अर्जुन रामपाललगायत कलाकारको सशक्त अभिनय रहेको छ । फिल्मको निर्देशन तथा निर्माण आदित्य धरले गरेका हुन् ।

यसैबीच, फिल्मको सफलतासँगै ‘धुरन्धर’ को दोस्रो भाग आगामी १९ मार्चमा भारतसँगै नेपालमा पनि प्रदर्शन हुने जानकारी सार्वजनिक गरिएको छ । पहिलो भागको उत्साहजनक प्रतिक्रियापछि दोस्रो भागप्रति पनि नेपाली दर्शकमा उच्च अपेक्षा देखिएको छ ।

कमेन्ट गर्नुहोस्