फिल्म । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाली फिल्म ‘परान’को खुलेर प्रशंसा गरेका छन् । उनले उत्कृष्ट कथा, सशक्त अभिनय र प्रभावशाली प्रस्तुतिका कारण ‘परान’ नेपाली समाजको यथार्थ र विश्वव्यापी माइग्रेसनबाट उत्पन्न परिणामलाई शिक्षामूलक ढंगले प्रस्तुत गर्ने सफल फिल्म भएको बताएका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै करिब १५ दिनअघि निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’सँग बानेश्वरमा भेट भएको र त्यही बेला फिल्म हेर्न निमन्त्रणा पाएको उल्लेख गरेका छन् । पार्टी महाधिवेशनको व्यस्तताका कारण समय निकाल्न नसके पनि महाधिवेशन सम्पन्न भएपछि फिल्म प्रदर्शनको ५३औँ दिनमा साथीहरूसहित हलमा पुगेर फिल्म हेरेको उनले बताए ।
‘फिल्ममा नेपाली समाजको वास्तविकता छ । यो हाम्रो समाजको कथा हो’, नेता भट्टराईले उल्लेख गरेका छन् । निर्देशक आचार्यको निर्देशनको पनि प्रशंसा गर्दै भट्टराईले ‘काकुको निर्देशन उत्कृष्ट र प्रभावशाली रहेको’ प्रतिक्रिया दिएका छन् ।
फिल्ममा अभिनय गरेका नीर शाह, केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, अञ्जना बराइली, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारहरूको अभिनयप्रति उनले सम्मान व्यक्त गरेका छन्।












