कलाकार खोज्दै आइसफल प्रडक्सन

फिल्म । ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’ र ‘रेडसुटकेश’ जस्ता चर्चित फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको नयाँ फिल्मका लागि कलाकार आवश्यक भएको सूचना सार्वजनिक गरेको छ । निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलका अनुसार सन् २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत कलाकार छनोटका लागि अडिसन आह्वान गरिएको हो । उनले अडिसनमार्फत छनोट भएका प्रतिभासँग दुवै पक्षको समझदारीअनुसार सहकार्य गरिने बताए ।

‘आइसफल प्रडक्सनले २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माणलाई पनि गति दिने योजना बनाएको छ । यसैका लागि हामीले अडिसन कल गरेका हौँ’, निर्माता पोखरेलले भने, ‘अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ।’

विदेशी फिचर फिल्म, डकुमेन्ट्री तथा विज्ञापनका लागि लाइन प्रोड्युसरका रूपमा काम गर्दै आएको आइसफल प्रडक्सनले निर्माण गरेका फिल्महरू विश्वका विभिन्न प्रतिष्ठित फिल्म महोत्सवमा छनोट हुनुका साथै पुरस्कृतसमेत हुँदै आएका छन् ।

अडिसन कलमा मुख्यदेखि सहायक भूमिकासम्मका कलाकार छनोट गरिने जनाइएको छ। यसका लागि जुनसुकै लिङ्ग, उमेर र जात समूहका कलाकारले आवेदन दिन सक्नेछन् । आवेदन दिन इच्छुकले आफ्नो परिचयात्मक भिडियो casting@icefallproductions.com मा पठाउनुपर्ने निर्माता पोखरेलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्