फागुन ११ मा ‘गोर्खा वारियर’

फिल्म । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल चलचित्र ‘गोर्खा वारियर’को नेपाल प्रदर्शन तय भएको छ । चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्सले फागुन ११ मा प्रदर्शन तय गरिएको जानकारी दिए । नेपालको डेट, डायस्पोरा प्रदर्शन लगायतलाई विचार गरेर उक्त मिति घोषणा गरिएको निर्देशक चाम्सले बताए ।

विदेशी चलचित्र उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले चलचित्रलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । हलिउड र बलिउडका ठूला स्टारको चलचित्र प्रिमियर हुने सिनेवर्ल्डमा नेपाली चलचित्रको पहिलोपटक प्रिमियर भएको हो । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतका कारणले यो चलचित्र पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको छ । अर्थात् नेपाली भाषाको चलचित्रले पहिलोपटक अवार्डमा प्रवेश पाएको हो । निर्देशक मिलन चाम्सले प्रवेश पाएर अन्तिम लिस्टमा छनोट भएपछि नोमिनेसन सार्वजनिक हुने जानकारी दिए । ‘हाम्रो विषय र कलाकार विश्वका ठुला चलचित्रसँग प्रतिष्पर्धा गर्न उभिनु नै हाम्रो जीत हो । हाम्रो विषयलाई विश्वले कति प्राथमिकता दिन्छ भन्ने तथ्यलाई गोर्खा वारियरले प्रस्ट्याईरहेको छ’,निर्देशक चाम्सले भने ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

कमेन्ट गर्नुहोस्