आर्यनले निर्देशनमा पहिलो अवार्ड जिते

ओटीटी । भारतीय सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशकका रूपमा आफ्नो करियरको पहिलो अवार्ड हात पारेका छन् । शुक्रबार नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी इन्डियन अफ द इयर’ समारोहमा उनलाई डेब्यु वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ का लागि ‘बेस्ट डेब्यु डाइरेक्टर अफ द इयर’ अवार्ड प्रदान गरिएको हो ।

अवार्ड ग्रहण गर्ने विशेष क्षणमा आर्यनसँग उनकी हजुरआमा सविता छिब्बर पनि उपस्थित थिइन् । समारोहमा दिएको आर्यनको मन्तव्य यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छ । आफ्नो पहिलो अवार्डबारे बोल्दै आर्यनले ठट्टाको शैलीमा आफूलाई पनि बुबा शाहरुख खानलाई जस्तै अवार्डहरू मनपर्ने बताएका छन्। भविष्यमा अझ धेरै अवार्ड जित्ने आशा व्यक्त गर्दै उनले भने, ‘यो त सुरुवात मात्रै हो ।’

तर, आर्यनले यो अवार्ड बुबालाई होइन, आमा गौरी खानलाई समर्पण गरे। आमालाई सम्झिँदै उनले भने, ‘मेरी आमा मलाई सधैँ छिटो सुत्न, कसैको मजाक नउडाउन र गालीगलौज नगर्न सिकाउनुहुन्छ । आज यही कुराहरूका लागि मैले यो अवार्ड पाएको हुँ।’ उनले अब घर जाँदा आमाबाट अलि कम गाली खाने आशा पनि व्यक्त गरे ।

आर्यनले आफ्नो वेब सिरिजका कलाकार, प्राविधिक टिम तथा नेटफ्लिक्सलाई एक नयाँ निर्देशकमा विश्वास गरेकोमा धन्यवाद दिएका छन् । गत सेप्टेम्बर १८ मा रिलिज भएको ‘द ब्याड्स अफ बलिउड’ हिन्दी फिल्म उद्योगमाथि आधारित व्यङ्ग्यात्मक वेब सिरिज हो, जसले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । शाहरुख खानका छोरा भएर पनि अभिनयभन्दा निर्देशन रोजेका आर्यन खानले आफ्नो पहिलो प्रयासबाटै सफलताको स्वाद चाखेका छन् ।

कमेन्ट गर्नुहोस्