अनमोलसँग भिड्दै पूजा : जेठ १० मा‘दान्भी’

फिल्म । महाशिवरात्री तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मलाई आउँदो बर्षको जेठ १० गतेबाट नेपालभर रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले फिल्म बिहिबारबाट नै रिलिज हुनेछ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । सोही मितिमा यसअगाडि अनमोल केसी अभिनित ‘फर्की फर्की’ ले प्रदर्शन घोषणा गरिसकेको छ ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । यो फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् । फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

लभ स्टोरी फिल्ममा रुचाइएकी नायिका पूजा शर्माले पहिलो पटक ‘दान्भी’ मार्फत आफूलाई एक्सन लयमा उभ्याएकी हुन् । निर्माणपक्षले वितरकसँग सल्लाहा गरेर राम्रो मितिमा फिल्म प्रदर्शन गर्न लागेको बताएको छ ।

कमेन्ट गर्नुहोस्