फिल्म । केहि समयदेखी चर्चामा रहेको फिल्म ‘लाज शरणम’ लाई केन्द्रीय चलचित्र जाँच समितिले शुक्रबार जाँच गरेपछि पास गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको जाँचमा मन्त्रालयका कानून विभाग हेर्ने अधिकारी पनि उपस्थित रहेर फिल्म हेरेपछि युनिभर्सल सर्टिफिकेट दिएको हो । फिल्म शुक्रबार हेरिएता पनि केहि प्राविधिक कुरा मिलाएर आइतबार सर्टिफिकेट दिईएको बोर्ड सदस्य ऋषिराज आचार्यले बताए ।
सबैको चासो रहेको पूर्वमन्त्री अफताव आलमको विषयमा भने फिल्ममा त्यस्तो कुनै इस्यु नरहेको सदस्य आचार्यको भनाइ छ । उनले फिल्ममा प्रयुक्त धुर्मुसको पात्र कुनै व्यक्ति लक्षित नरहेको देखिएको बताए । फिल्मको जाँचअघि संचार मन्त्रालयमा बोर्ड पदाधिकारीहरूको बैठक बसेको थियो । जहाँ, सबै सदस्यले फिल्मको स्क्रिप्ट अध्ययन गरेका थिए । स्क्रिप्ट अध्ययनको क्रममा पनि सामान्य नै पाइएको उनले जनाए ।
मुद्दामामिलाको कारण सेन्सर बोर्डले यो फिल्मको सेन्सरलाई गम्भीरताको साथ लिएको थियो । जसको कारण सेन्सरपूर्व बैठक बोलाइएको थियो । गत मंगलवार पूर्वमन्त्री आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।











