सुशासनको अनुभूति गराउन सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल

देश । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समयमै निर्वाचन गरेर सुशासनको अनुभूति गराउन प्रतिवद्ध रहेको बताएका छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजना गरिएको ‘किताब जात्रा’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन् । मन्त्री खरेलले संवेदनशील समयमा सरकार जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै मुलुकलाई परिवर्तनको दिशामा अघि बढाउने दायित्व सबैको काँधमा रहेको बताए। ‘यसतर्फ सबैको ध्यान जाओस्। सरकार पनि समयमै चुनाव गर्दै सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ’, उनले भने ।

उनले किताब जात्राले पठन संस्कृतिको विकासमा ठूलो योगदान पुर्‍याएको उल्लेख गर्दै यसको प्रशंसा गरे । फाउण्डेशनले भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनार्थ सात वर्षदेखि निरन्तर ‘किताब जात्रा’ आयोजना गर्दै आएको छ। फेस्टिबलमा सामाजिक गहिराइ, परम्परागत मूल्य, राजनीतिक सन्दर्भ, सुनौलो भविष्यका लागि मार्गदर्शन लगायत विषयमा गहन बहस हुने किताब जात्रा फेस्टिबलका निर्देशक ऋषिराम अधिकारीले बताए ।

उनका अनुसार पठन संस्कृतिको विकासका लागि नेपालमा मात्र नभई विदेशमा पनि यस्ता कार्यक्रम भइरहेका छन् । हालसम्म देश–विदेशमा १५ कार्यक्रम गरिसकिएको जानकारी उनले दिए । फेस्टिबलमा दुई दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति रहनेछन् । साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने कार्यक्रममा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि तथा फिल्मलगायत विविध विषयमा गम्भीर मन्थन हुनेछ।

महोत्सवमा किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, फुड स्टल, ‘जदौ हजुर’को सांगीतिक प्रस्तुति, सुदूरपश्चिमेली छलिया नाच, तराई-मधेशको झिझिया नाच र पूर्वेली मारुनी नाच पनि प्रस्तुत गरिएको छ । स्वस्ती वाचनबाट सुरु गरिएको उद्घाटन समारोहमा लाखे नाचसहितको झाँकी, अभिनेता नाजिर हुसेनको कविता वाचन, एआई साहित्यलगायतका प्रदर्शनसमेत देखाइएको थियो ।

यसै अवसरमा किताब यात्रा फाउण्डेशनले दुई व्यक्तित्वलाई १ लाख ११ हजार १११ रुपैयाँ राशिको ‘प्रेम साहित्य सम्मान’ र ‘बेस्ट सेलर अवार्ड’ प्रदान गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्