फिल्म । कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुने फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बराल स्टारर यो फिल्मले मल्टिप्लेक्ससहितका हलमा सन्तोषजनक शो पाएको छ । नेपाली फिल्मको बाक्लो रिलिज तथा बलिउडबाट प्रतिक्षित फिल्महरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ ले राम्रो शो पाउनुलाई सकारात्मक रूपमा हेरिएको छ ।
फिल्मका निर्देशक सुरेन्द्र पौडेलले अग्रिम बुकिङ उत्साहजनक देखिएको बताएका छन् । ‘धेरै फिल्महरू रहेकाले सोही अनुसारको शो हाम्रो फिल्मले पाएको छ’, उनले भने, ‘रिलिजपछि हाम्रो फिल्मको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकि हामीले राम्रो फिल्म बनाएका छौँ ।’
निर्देशक पौडेलले फिल्मले राम्रो ‘वर्ड अफ माउथ’ पाउनेमा विश्वास व्यक्त गरेका छन् । ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले फिल्म पनि त्यस्तै राम्रो बनेको र दर्शकको रोजाइमा पर्ने उनको दाबी छ । सुरेन्द्र पौडेल ले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई र विजय बरालका साथै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
यसैगरी, सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय रहेको छ । फिल्ममा बाल कलाकारको रूपमा सुजेन थापा र साइसा गौचनले अभिनय गरेका छन् ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्मस को सहकार्यमा बनेको यो फिल्मका निर्माताहरूमा आशिष एच तामाङ र श्रीराज कार्की छन् । प्रदीप जी धामी र पुस्कर बी घिमिरे कार्यकारी निर्माता तथा राम विष्ट लाइन प्रोडुसर रहेका छन् । फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ । फिल्मलाई काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछन् ।











