मङ्सिर २६ मा ‘पीआर’

फिल्म । निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आउँदो मङ्सिर २६ गते फिल्मलाई देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित रहेको यो फिल्मले विदेश जाने नेपाली युवाहरूको सपना, संघर्ष र त्यस पछाडिको यथार्थलाई मुख्य विषयवस्तु बनाएको निर्माण पक्षले जनाएको छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री म्याक्स, गणेश बुढाथोकी, कृष्ण थापा र नवीन घायलको प्रमुख भूमिका रहेको छ । फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माताका रूपमा रहेका छन् ।

निर्देशक बस्नेतले ‘पीआर’ मा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण भेट्ने बताएका छन् । उनले भने, ‘हामी ‘पीआर’ लाई नेपालको कथा, नेपाली युवाको सपना र संघर्षको रूपमा दर्शकसामु ल्याउन लागेका छौँ । दर्शकले पक्कै पनि फरक स्वाद प्राप्त गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’

फिल्मको छायांकन सौरभ मानन्धर र सौरभ लामाले गरेका हुन् । फिल्ममा सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ । राम्जी लामिछानेको नृत्य निर्देशन तथा मानस राज र भीम बिसीको संगीत रहेको छ । ‘पीआर’ को वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ ।

कमेन्ट गर्नुहोस्