फिल्म । गत साउन १ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले बक्सअफिसमा उत्साहजनक सुरुआत गरेको छ । मनसुनी वर्षाको समेत पर्वाह नगरी दर्शक हलसम्म पुगेपछि फिल्मले पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको हो । पहिलो दिन बम्पर ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार पनि दर्शकको उल्लेखनीय साथ पाएको छ । बिहानैदेखि देशभरका अधिकांश हलमा दर्शकको चाप बढेपछि विभिन्न मल्टिप्लेक्स तथा मोफसलका हलहरूले शो संख्या थपेका छन् ।
फिल्मका वितरक करण श्रेष्ठका अनुसार पहिलो दिन प्राप्त सकारात्मक प्रतिक्रिया र दर्शकको बढ्दो मागका कारण हल सञ्चालकहरूले अतिरिक्त शो थपेका हुन्। उनका अनुसार पहिलो दिन देशभर दुई सयभन्दा बढी शो पाएको फिल्मको दोस्रो दिन शो संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। दर्शकको राम्रो साथसँगै अधिकांश हलमा अकुपेन्सी पनि उत्साहजनक रहेको उनले बताए।
फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न हलमा पुगेका निर्माता, निर्देशक तथा कलाकारलाई दर्शकले उत्कृष्ट फिल्म हेर्न पाएको भन्दै धन्यवाद दिएका छन्। दर्शकले फिल्मको विषयवस्तु, कलाकारहरूको अभिनय र समाजलाई दिएको सन्देशको खुलेर प्रशंसा गरेका छन्। विशेषगरी ‘गौँथली’ पात्रको संघर्ष र छोरीको शिक्षाको महत्त्वले आफूहरूलाई गहिरो रूपमा छोएको प्रतिक्रिया अधिकांश दर्शकले दिएका छन्।
निर्देशक डा. कपिल रिजालले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित बनेको बताए। उनका अनुसार फिल्ममार्फत दिन खोजिएको सन्देश दर्शकसम्म प्रभावकारी रूपमा पुगेको छ र ‘गौँथली’को संघर्षलाई दर्शकले आत्मसात् गरेका छन्।
अभिनेता अरुण क्षेत्रीले दर्शकले आफ्नो पात्रलाई अत्यधिक माया गरेको बताए। उनले फिल्ममा आफूले बोलेको चर्चित संवाद ‘गाईको घ्यू, आई लभ यू’ दोहोर्याउँदै दर्शकले फिल्मको खुलेर प्रशंसा गरेको उल्लेख गरे। उनले उक्त भूमिका आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण रहेको पनि बताए।
शीर्ष भूमिकामा रहेकी अभिनेत्री सिम्रन खड्काले पनि दर्शकले आफूलाई छोरीझैँ माया गर्दै पात्रसँग भावनात्मक रूपमा जोडिएको प्रतिक्रिया दिएको बताइन्। उनका अनुसार धेरै दर्शकले ‘गौँथली’को संघर्ष आफ्नै जीवनसँग मेल खाएको महसुस गरेका छन्।
बेलायतमा दन्त चिकित्सकका रूपमा कार्यरत निर्देशक डा. कपिल रिजाल पछिल्ला केही वर्षदेखि फिल्म निर्माण तथा निर्देशनमा सक्रिय छन्। उनका अनुसार चिकित्सकीय अनुभवले कथावस्तु छनोटमा प्रभाव पारेको छ। यसअघि उनले निर्देशन गरेको फिल्म ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेसन’को विषय उठाइएको थियो भने ‘गौँथली’ मा ‘माइल्ड अटिजम’ भएका व्यक्तिको जीवन र ग्रामीण समाजमा छोरीको शिक्षाको महत्त्वलाई मुख्य विषय बनाइएको छ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।









