फिल्म । अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’ मा फरक आवरणमा प्रस्तुत हुने बताएका छन् । सामान्यतया गाउँले र गरिब क्यारेक्टरमा देखिने दयाहाङ यो फिल्ममा शहरिया धनी व्यक्तिको भूमिकामा छन् । कार चढेर ५/७ जना साथमा लिएर रवाफ देखाउने क्यारेक्टरमा उनी प्रस्तुत छन्, जुन उनको विगतका फिल्मको तुलनामा निकै भिन्न छ ।
ट्रेलरमा समेत उनको यो नयाँ आवरण देखिएको छ । ‘क्यारेक्टरको भित्री पक्षमा पसेर काम गर्न रुचाउँछु, तर ‘वरिष्ठ बलराम’को स्क्रिप्ट पढ्दा यो गेटअप सोचेको थिइनँ’, दयाहाङले भने । सुट, टाई र कोटमा ठाँटिएर अभिनय गर्न उनलाई चितवनको गर्मीमा चुनौतीपूर्ण भएको थियो ।
‘कोट लगाउँदा गर्मीले साँच्चै कठिन भयो, तर अभिनयका लागि जस्तोसुकै भूमिका पनि गर्नुपर्छ’, उनले थपे । निर्देशक सुरेन्द्र पौडेलले दयाहाङलाई वरिष्ठ देखाउन चाहने र खोलामा आफ्नो हैकम कायम राख्ने क्यारेक्टरमा प्रस्तुत गरेका छन् । उनको एकाधिकार खोस्न खोज्ने विजय बरालसँगको टकराव नै फिल्मको मुख्य कथा हो ।
कात्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने ‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकार छन् । सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुसहित बाल कलाकार सुजेन थापा र साइसा गौचनको पनि अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्मसको सहकार्यमा बनेको फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की छन् । प्रदीप जी धामी र पुस्कर बी घिमिरे कार्यकारी निर्माता, राम विष्ट लाइन प्रोडुसर छन् । फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ । यो फिल्म काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।










