डब्बुको ‘लहर झैँ…’ गीतमा सरिता

सङ्गीत । गीतकार डब्बु क्षत्रीको रचनामा रहेको नयाँ गीत ‘लहर झैँ…’ सार्वजनिक गरिएको छ । पप शैलीको यो गीतमा गायिका बेनिसा पौडेलको स्वर र जुगल डंगोलको संगीत तथा संयोजन छ ।

गीतले एक युवतीको उत्साह, स्वतन्त्रता र चरा झैं उड्ने चाहनालाई चित्रण गर्छ । भिडियोमा मोडल तथा गायिका सरिता भारतीको एकल अभिनय छ, जसले गीतको भावनालाई जीवन्त बनाएको छ । मलेसियाको समुद्र किनारा र रमणीय स्थलहरूमा छायांकन गरिएको यो भिडियो यात्रा शैलीमा प्रस्तुत छ ।

गीतकार डब्बु क्षत्रीले भिडियोको निर्देशनसमेत गरेका छन् भने विलक्षण क्रियसन निर्माता हो । छायांकन र फोटो पत्रकारिता बद्री थापाले र सम्पादन तथा रंग संयोजन बीरेन्द्र भाट ‘बिपिन’ले गरेका छन् ।

‘लहर झैँ सागरमा नाच्न मन लाग्यो, हाँस्दै खेल्दै रमाउँदै बाँच्न मन लाग्यो…’ बोलको यो गीतले किशोरीको स्वतन्त्रता र सपनालाई उजागर गर्छ । डब्बुका अनुसार, युवतीहरूले स्वतन्त्र रूपमा सपना देख्ने र ती सपनालाई पूरा गर्ने सन्देश गीतले बोकेको छ ।

कमेन्ट गर्नुहोस्