फिल्म । कलाकार सागर लम्साल (बले) को नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ मा मोडल तथा थिएटर आर्टिस्ट रोशनी खड्कालाई प्रमुख भूमिकामा अनुबन्ध गरिएको छ । निर्देशक राजु गिरीको यो परियोजनामा रोशनीलाई हिरोइनको रूपमा फाइनल गरिएको हो । फिल्म टिमले घटस्थापनाको दिन परेर सोमबार नै रोशनीसँग अनुबन्ध गरेको जनाएको छ ।
उनी लम्सालसँग जोडी बाँध्दै छिन्, जसले दर्शकहरूबीच उत्साह जगाएको छ । लक्ष्मण सुवेदीको कथा तथा संवाद लेखनमा बन्ने यो फिल्ममा सागर र रोशनीका साथमा रमेश बुढाथोकी, रविन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेल लगायतका अनुभवी कलाकारहरूले अभिनय गर्ने पक्का भएको छ । प्राविधिक पक्षमा श्याम तामाङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र अर्जुन पोखरेल, बाबुल गिरी तथा रिमेशकुमार थापाको संगीत रहनेछ ।
निर्देशक राजु गिरीका अनुसार, सामाजिक कथानकमा आधारित यो हास्यप्रधान फिल्म उषा फिल्मसको ब्यानरमा निर्माण हुनेछ । चितवन र काठमाडौंका विभिन्न स्थानमा खिचिने फिल्मको सुटिङ दशैं लगत्तै सुरु गरिने छ । फिल्मको पोस्टर र टिजर चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।












