फिल्म । कोरोना भाइरसको दोस्रो लहरका कारण समस्यामा परेका फिल्म कर्मसंग जोडिएकाहरुलाई राहत वितरण भइरहेको ‘रजतपट कोसेली’ अभियानको बिट मारिएको छ । अभियानलाई अगाडी बढाईरहेका रङ्ग पत्रकार प्रकाश सुवेदीले अभियान मार्फत सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताए । सोमबार काठमाण्डौमा आयोजित सहयोग कार्यक्रममा मोडल निशा घिमिरेलाई ११ लाख ७ हजार ८ सय रुपैयाँ सहयोग पनि गरिएको छ । यो सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न कलाकर्मीहरुको पहलमा जुटेको थियो ।
पत्रकार सुवेदीले अभियानमा जोडिएर हातेमालो गर्ने सम्पूर्ण प्रति आभार पनि प्रकट गरेका छन् । यस्तै , अभिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका सुवेदीले जानकारी दिए ।
यस्तै, निशालाई नि:शुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । दाहालले नै निशाको अवस्था मेघासम्म पुर्याई उपचारको लागि पहल गरेका थिए । यस अभियान अन्तर्गत हालसम्म ४ सय बढि कलाकर्मीहरु तथा अन्य पीडितलाई राहत प्रदान गरिसकेको उक्त अवसरमा जनाइएको छ ।












