फिल्म । आगामी जेठ २ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा : घर नं २’ ले सहरको मौलिक कथालाई पर्दामा उतार्ने यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले फिल्मले सहरी परिवेशका वास्तविक र मौलिक कथाहरूलाई समेटेको दाबी गरे ।
अभिनेता खगेन्द्र लामिछानेले गाउँका कथा मात्र मौलिक हुन्छन् भन्ने स्थापित मान्यतालाई तोड्नुपर्नेमा जोड दिए । ‘नेपालीका कथा सबै मौलिक हुन्, चाहे त्यो गाउँको कथा होस् वा सहरको । सहरमा गाउँको भन्दा पनि चरम गरिबी छ र ती कथाहरू पनि हाम्रै हुन्’, उनले भने ।
निर्देशक दीपेन्द्र के खनालले भौतिक संरचना मात्र घर नभएर घर बन्न भावना र सम्बन्ध चाहिने बताए । उनले सहरी परिवेशमा मानवीय सम्बन्ध र एक्लोपनका कथाहरूलाई आफ्ना फिल्ममार्फत प्रस्तुत गर्न रुचाउने र ‘के घर के डेरा : घर नं २’ पनि त्यस्तै मौलिक कथामा बनेको जानकारी दिए ।
त्यसैगरी, अभिनेत्री केकी अधिकारीले ‘अर्ग्यानिक कथा’ भन्ने बित्तिकै गाउँकै कथा सम्झने प्रवृत्ति गलत भएको बताइन् । ‘अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो’, उनले भनिन् ।
साहित्यकार बुद्धिसागरद्वारा लिखित पहिलो पटकथा रहेको यसमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।










