फिल्म । आगामी शुक्रबार अर्थात् भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक यो गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । गीतमा थानेश्वर गौतमकै संगीत, कवि श्रवण मुकारुङको शब्द रचना र नारायण दंगलको एरेन्जमेन्ट छ ।
लिरिकल भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल र अचल दृश्य समेटिएका छन् । यो गीतले दर्शकमाझ फिल्मप्रति उत्साह जगाउने अपेक्षा गरिएको छ । यसअघि सार्वजनिक गीत, पोस्टर, टिजर र ट्रेलरले दर्शकमाझ राम्रो चर्चा बटुलिसकेको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्मित यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकारहरू असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मको छायांकन शैलेन्द्रध्वज कार्कीले गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्मका निर्माता टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले हुन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता छन्।खिल बहादुर गुरुङको निर्देशनमा बनेको यो फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन छ ।










