अनमोल, आँचल र जसीताको ‘जेरी अन टप’ को टिजर कस्तो छ ?

फिल्म । आगामी असोज ३१ बाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ । अनन्या फिल्म्सको ब्यानरमा निर्मित यस फिल्मको पहिलो प्रचार सामग्री सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत रिलिज गरिएको हो । कार्यक्रममा प्रमुख कलाकारहरू अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङ,कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गीको उपस्थिति रहेको थियो । निर्देशक सुयोग गुरुङले सम्पूर्ण टोलीको अथक मेहनतले फिल्मलाई दर्शकमाझ ल्याउन लागिएको बताउँदै सबैको साथ र समर्थनको अपेक्षा गरे ।

१ मिनेट ५२ सेकेन्ड लामो टिजरले फिल्मको कथावस्तुलाई संक्षेपमा उजागर गरेको छ । सुयोग गुरुङद्वारा निर्देशित यो फिल्म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राको क्रममा विकसित हुने प्रेमकथामा केन्द्रित छ । सरोज न्यौपानेको प्रस्तुतिमा बनेको ‘जेरी अन टप’मा न्यौपानेसँगै रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानीमा साझेदारी गरेका छन् ।

फिल्मको कथा हेमराज बिसीले लेखेका हुन् । कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ छन् भने नविन घिमिरे, विवेक थापा र भविष्य खड्का सह–निर्माताको भूमिकामा छन् । फिल्ममा कालीप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र बृजेश श्रेष्ठको सङ्गीत छ । विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन रहेको यो फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (अष्ट्रेलियाबाहेक) हङकङको एलजी एसोसिएट्सले खरिद गरेको छ ।

कमेन्ट गर्नुहोस्