‘३६ को आँकडा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘३६ को आँकडा’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । यो फिल्म अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा बन्दैछ । सार्वजनिक पोस्टरमा फिल्मका दुई मुख्य अभिनेत्री रेखा थापा र पूजा शर्मालाई देख्न सकिन्छ । पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा रहेकी रेखाले पूजालाई हत्कडी लगाएको दृश्य छ । यसले यी दुई पात्रबीचको गहिरो द्वन्द्वलाई संकेत गर्छ । रेखाको अनुहारमा जितको भाव र पूजाको अनुहारमा अझै पनि हार नमानेको भाव देखिन्छ । यसले फिल्ममा दुई महिला पात्रबीचको टकराव मुख्य विषय रहने अनुमान गरिएको छ ।

नेपाली फिल्ममा दुई महिला पात्रलाई आमनेसामने गराएर कथा बुनिएको कमै पाइन्छ । यो पोस्टरले फिल्मको कथावस्तु फरक र आकर्षक हुने संकेत गरेको छ । फरक पुस्ताका यी दुई स्थापित अभिनेत्रीहरू पर्दामा एकअर्कासँग प्रतिस्पर्धामा उत्रँदा दर्शकका लागि निकै रोचक अनुभव हुने अपेक्षा गरिएको छ ।

फिल्मको निर्देशन सबिर श्रेष्ठले गर्दैछन् र यो आगामी सोमबारबाट छायांकनमा जानेछ । पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे केही खुलाइएको छैन, तर निर्माण पक्षले छायांकनपछि ती विवरण सार्वजनिक गर्ने बताएको छ । फिल्ममा रेखाको जोडी महेश त्रिपाठीसँग र पूजाको जोडी पुष्प खड्कासँग बाँधिनेछ ।

कमेन्ट गर्नुहोस्