जब ‘आइम्यास’ मा देखाईयो ‘गोर्खा वारियर’

भेषराज कार्की

फिल्म । आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो। साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र गुणस्तर यसको विशेषता हुन् । विशेषतः ‘आइम्याक्स’कै लागि छायांकन गरी तयार गरिएको चलचित्र यस्तो प्रविधि भएको हलमा हेर्दा पर्दामा देखिने दृश्य अझ जीवन्त, विस्तृत र वास्तविक जस्तै अनुभव हुने दर्शकको भनाइ छ । विश्वभर लोकप्रिय मानिने ‘आइम्याक्स’ प्रविधि भएको चलचित्र भवन नेपालमा भने छैन ।

चलचित्र भवन नभएकै कारण ‘आइम्याक्स’ प्रविधिमा नेपाली चलचित्र प्रदर्शन हुने कुरा कल्पनाभन्दा परको सपना जस्तै हो । तर करिब दुई वर्षअघि, विसं २०८० भदौ महिनाको अन्तिम साता नेपाली चलचित्र बेलायतको लन्डनस्थित लेस्टर स्क्वायरमा रहेको ‘आइम्याक्स सिने वर्ल्ड’ मा देखाइयो । बेलायतमा आफ्नो छुट्टै प्रभाव छाड्न सफल गोर्खा सैनिकको कथामा तयार गरिएको ‘गोर्खा वारियर’ पहिलोपटक ‘आइम्याक्स’ प्रविधिमा प्रदर्शन हुने नेपाली चलचित्र बन्यो ।

पुर्व गोर्खा सैनिक रहिसक्नुभएका निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सन् १९४९ मा मलाया जङगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । भारतीय चलचित्रले समेत ‘वर्ल्ड प्रिमियर’ को अनुमति पाउन सङघर्ष गर्नु पर्ने लेस्टर स्क्वायरको ‘आइम्याक्स’ मा नेपाली चलचित्र प्रदर्शन हुनु नेपालको लागि गौरवको विषय भएता पनि यसका लागि निकै समय लागेको थियो । निर्देशक चाम्सले विदेशी चलचित्रको ‘प्रिमियर’ हुँदा नेपाली चलचित्रलाई त्यहाँ प्रदर्शन गर्ने र नेपाली कलाकर्मीलाई त्यहाँ ‘रेड कार्पेट’ मा हिडाउने सपना देख्ने गरेको बताउनुभयो ।

“विदेशी कलाकार र उनीहरुले अभिनय गरेको चलचित्रको तामझाम हेर्दा एकदिन म आफैँ यहाँ नेपाली चलचित्र ल्याउछु भन्ने लाग्थ्यो । त्यसका लागि मैले चलचित्र निर्देशन गरे देखि नै प्रयास नगरेको होइन । तर, ‘आइम्याक्स’ प्रविधि रहेको चलचित्र भवनको आफ्नै नियम हुन्छ । सोही कारणले सुरुआती दिनमा आफ्ना चलचित्रलाई त्यहाँ प्रदर्शन गर्न सकिन”, उहाँले भन्नुभयो ।

‘गोर्खा वारियर’ अगाडि निर्देशक चाम्स आफैँले निर्देशन गर्नुभएको अन्य नेपाली चलचित्र ‘प्रिमियर’ गर्न गरिएको प्रस्तावलाई ‘आइम्याक्स सिने वर्ल्ड’ ले अस्वीकार गरिरहेको थियो । किनकि उनीहरूले विषयवस्तु, भाषागत क्षमता, प्राविधिक सहजता लगायतका विविध पाटोलाई हेर्ने गर्थे । निर्देशक चाम्स आफैँले पनि यी तथ्यलाई धेरै पछि बुझ्नुभयो ।

“लन्डनमा रहेको आइम्याक्समा प्रिमियर गर्न पैसा भएर मात्र हुँदैन । उनीहरूले कुन भाषा, स्टार वा कम्पनिको चलचित्रलाई ‘प्रिमियर’ गर्यो भन्ने हुन्छ । संवत म आफैँ पनि अन्य चलचित्र त्यहाँ प्रदर्शनी गर्न सक्दिन । त्यहाँ खर्चालु मात्र नभएर धेरै कुरा मिलाउनु पर्ने हुन्छ । मैले ‘गोर्खा वारियर’ को प्रिमियर गर्न पाउनुको कारण गोर्खाली प्रति बेलायतीको सम्मान र हाम्रो वीरताको गाथा नै हो”, निर्देशक चाम्सले भन्नुभयो ।

पटकपटकको प्रयासमा असफल हुनुभएका निर्देशक चाम्सले ‘गोर्खा वारियर’ चलचित्र ‘आइम्याक्स’ प्रविधिमा ‘प्रिमियर’ गर्न एक वर्ष आगाडी देखि नै तयारी गर्नुभयो । चलचित्र भवनलाई गोर्खा सैनिकको वीरताको कथामा बनेको चलचित्र प्रिमियर गर्ने भनेर चिठी लेख्नुभयो । बेलायतमा नेपाली र गोर्खा सैनिकलाई गर्ने सम्मानका कारण चलचित्र भवनले एउटा समय दियो । उक्त समयका लागि आर्थिकसँगै त्यहाँ मिलाउनु पर्ने प्राविधिक पक्षहरूले कयौँ रात निर्देशक चाम्सलाई निदाउन दिएनन् । फलत: एक दशकको एउटा सपनाले मुर्तरुप पायो

“गोर्खा सैनिकको कथा नभएको भए संवत ‘प्रिमियर’ गर्ने अनुमति पाउने थिएनौं । त्यसपछि त्यहाँ ‘रेड कार्पेट’ गरिने स्थानमा रहेका पसलहरूसँग सहमति लिनु पर्छ । त्यहाँ आउने विशिष्ट अतिथिका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनु पर्छ । सबै भन्दा महत्वपूर्ण हामीले हाम्रो प्रविधिमा तयार गरेको चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गर्नुपर्छ । यी सब सपनालाई मुर्तरुप दिन धेरै रात अनिदो बसेर काम गरेको छु”, निर्देशक चाम्सले भन्नुभयो ।

नेपाली चलचित्र लेस्टर स्क्वायरमा ‘प्रिमियर’ हुने खबरले लन्डनमा निकै चर्चा पाएको थियो । लेस्टर स्क्वायर त्यसै पनि विभिन्न चलचित्र भवन, नाटक मन्चन गरिने रङगमंच लगायतका लागि प्रसिद्ध छ । त्यहाँ हरेक कोणमा चलचित्र र कला देखिन्छ । लन्डन मात्र नभई इंग्ल्याण्डकै ‘सिनेमा हब’ का रुपमा परिचित उक्त स्थानमा भएको नेपाली चलचित्रको गतिविधिले बजार विस्तारको सम्भावनालाई पनि सघाएको थियो । त्यहाँ आइपुग्ने चलचित्र पारखीले नेपाली चलचित्रको प्रदर्शनी हुँदैछ भन्दा निकै चासो पूर्वक बुझ्न खोज्थे ।

“मैले २० वर्ष अघि देखेको यो सपना पुरा गरें । त्यसको प्रभाव नेपालमा के कस्तो पर्यो त्यो भन्न सक्दिन तर नेपाली चलचित्र अत्याधुनिक प्रविधिसँगै बेलायतको मुख्य स्थानमा प्रदर्शन भयो, जहाँ विश्वका प्रसिद्ध निर्देशकका चलचित्र प्रदर्शन हुन्छन् । यसले कालान्तरमा सम्पूर्ण नेपाली चलचित्रलाई टेवा पुर्याउने छ”, निर्देशक चाम्सले भन्नुभयो ।

‘आइम्याक्स सिने वर्ल्ड’ मा प्रदर्शनी गर्ने तय भएपछि निश्चित शुल्क लिएर चलचित्र भवनले नै ‘गोर्खा वारियर’ लाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गरेको निर्देशक चाम्सले जानकारी दिनुभयो । लन्डनमा उक्त प्रदर्शनीको चर्चा अझैँ हुने गर्छ । त्यहाँ आठ सयको हाराहारीमा दर्शकले चलचित्र हेरका थिएँ । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा हेर्नुको अनुभव छुटै रहेको भनाइ उक्त प्रदर्शनीमा सहभागी हुनुभएका नेपालका सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो,”त्यो क्षणलाई शब्दमा व्यक्त गर्नै सकिदैन् । चलचित्र हेराइको अत्याधुनिक अनुभव हो, ‘आइम्याक्स’ र त्यहाँ नेपाली चलचित्र पहिलोपटक प्रदर्शन हुँदै थियो । त्यहाँ नेपालीसँगै बेलायती र अन्य देशका नागरिक पनि सहभागी थिएँ । किनकि उनीहरू बेलायतको रक्षार्थ आफ्नो ज्यानको प्रभाव नगरेका वीर गोर्खा सैनिकको कथालाई हेर्न उत्साहित थिए । त्यो समय स्मरण गर्दा पनि आनन्द आउँछ ।”

नेपाल र नेपालीको शान बढाउने उक्त प्रदर्शनी आउँदो समयमा कहिले होला ? यसको जवाफ भने कसैसँग छैन । किनकि आर्थिक पाटोसँगै अन्य विविध पक्ष नमिलेसम्म त्यहाँ अर्को चलचित्र प्रदर्शन गर्न कठिन छ । किनकि निर्देशक चाम्स आफैँ पूर्व गोर्खा सैनिक भएका कारण व्यावसायिक पाटोलाई ध्यान नदिई एउटा सपना पुरा गर्न अहोरात्र मेहनत गर्नुभयो । उहाँले चलचित्र तयार गरेर त्यहाँ प्रदर्शन गर्न झन्डै एक दशकको समय लागेको बताउनुभयो ।

“म आफैँ पूर्व सैनिक भएकाले हाम्रो वीरताको कथालाई विश्वभर देखाउने एउटा सपना थियो । त्यो पुरा गरें, त्यसक्रममा मैले गरेको सङघर्षलाई ‘आइम्याक्स’ मा प्रदर्शन भएको दिन भूलायो । एउटा इतिहास बनेको छ, हामी गोर्खालीको वीरता त्यहाँ विश्वभरका चलचित्रकर्मीले हेरेका छन् । यसले आउँदा दिनमा नेपाली चलचित्रलाई पक्कै सघाउने छ”, निर्देशकक चाम्सले भन्नुभयो ।

उक्त चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ । विसं २०८० कै फागुनमा नेपालमा प्रदर्शन भएको उक्त चलचित्रमा वास्तविक झैँ लाग्ने युद्धका दृश्य देखाइएको भन्दै प्रसंसा भएको थियो ।

नेपालमा पछिल्लो समयमा नेपाली चलचित्रले प्राविधिक रूपमा ठूलो फड्को मारेका छन् । नेपाली कथा र फिल्म विश्वका प्रतिष्ठित चलचित्र महोत्सवसम्म पुग्न थालेका छन् । तर ‘आइम्याक्स’ प्रविधि भने नेपालमा कहिले भित्रिन्छ भन्ने प्रश्नको स्पष्ट उत्तर स्वयं चलचित्र प्रदर्शकसँग पनि छैन, किनकि उक्त प्रविधि जडान गरी हल सञ्चालन गर्न अत्यन्तै खर्चिलो मानिन्छ ।

कमेन्ट गर्नुहोस्