सङ्गीत । ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको पहिलो मौलिक गीत ‘सम्झना’ सार्वजनिक गरिएको छ । गीतमा करणलाई रोहित सुन्दासले स्वरमा साथ दिएका छन् । नेपाल आइडलको उपाधि जितेपछि करणले विभिन्न गीतमा आफ्नो आवाज दिइसकेका भए पनि यो पहिलो पटक उनले आफ्नै सिर्जना सार्वजनिक गरेका हुन् ।
भिडियो सार्वजनिक भएपछि करणले भने, ‘अब लगातार आफ्नो युट्युब च्यानलबाट आफ्नै सिर्जनाहरू सार्वजनिक गर्नेछु । केही नयाँ तयारीहरू पनि भइरहेको छ।’ उनले थपे, ‘मलाई नेपाल आइडलमा जिताउनु भएका दर्शकहरूको लागि भए पनि मैले राम्रा गीतहरू बनाउनुपर्ने हुन्छ र मेरो इच्छा पनि त्यही नै हो।’
रंग पत्रकार सुजन श्रेष्ठद्वारा निर्देशित गरिएको ‘वान टेक’ भिडियोमा करण र रोहितलाई देख्न सकिन्छ । भिडियोको छायांकन सुशान ठटालले गरेका हुन् भने पंकज महराले खिचेका हुन् । यसलाई सुशिल घिमिरेले सम्पादन र कलर गरेका छन् ।










