‘क्याप्टेन साब’ खिच्न तयार गरियो यस्तो सेट

फिल्म । छायांकनरत फिल्म ‘क्याप्टेन साब’ को छायांकन काठमाडौँमा सेट निर्माण गरी भइरहेको छ । सेटलाई प्राचीन काठमाडौं सहरको स्वरूपमा ढालिएको छ, जसमा परम्परागत घरको शैली, प्रप्स, मानिसको रहनसहन र वेशभूषाले उपत्यकाको सांस्कृतिक सभ्यताको झल्को दिन्छ । निर्माताका अनुसार फिल्मले विसं २०३० र २०४० को दशकको काठमाडौंको चित्रण गर्ने प्रयास गरेको छ । यो फिल्म ‘पिरियोडिक’ शैलीमा आधारित रहेको निर्देशक दीपेन्द्र के खनालले बताए ।

‘काठमाडौंको व्यस्त सहरमा दर्जनौँ नयाँ पक्की घर बनाउन सम्भव थिएन । त्यसैले ३० र ४० को दशकको अनुभूति दिन घरहरूलाई त्यही समय सुहाउँदो रंगरोगन गरिएको छ । त्यो बेलाको काठमाडौं देखाउन कस्ट्युम डिजाइन पनि सोही समयअनुरूप तयार गरिएको छ । चिट गरेजस्तो नदेखियोस् भनेर सावधानीपूर्वक काम गरेका छौँ । हामीले जुन कालखण्डको कथा भन्न खोजेका छौँ, त्यही समयको वातावरण देखाउने हाम्रो प्रयास हो । बजेट र शिल्पले भ्याएसम्म उत्कृष्ट गर्ने कोसिस गरेका छौँ’, निर्देशक खनालले भने ।

फिल्मको छायांकन गत साउन १० गतेदेखि सुरु भएको थियो । काठमाडौंसहित काभ्रेपलाञ्चोकको पनौती, बेथानचोक, चितवन र वीरगञ्जमा छायांकन हुने ‘क्याप्टेन साब’ विमान चालक तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवन घटनामा आधारित छ । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टद्वारा निर्मित यो फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । फिल्मका निर्मातामा निर्देशक खनालसहित करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् भने कार्यकारी निर्माता सिर्जना नापित छिन् ।

कमेन्ट गर्नुहोस्