फिल्म । नेपालमा ‘हरर’ विधालाई हेर्ने दर्शक भएता पनि फिल्म न्यून सङ्ख्यामा बन्ने गरेका छन् । नेपालमा ‘हरर’ विधामा निर्माण भएका विदेशीसँगै स्वदेशी फिल्मले राम्रो कमाइ गरेता पनि निर्माणमा सुस्तता देखिनु प्राविधिक कठिनाइलाई मुख्य कारण मानिएको छ । यद्यपि समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ लाई ‘हरर’ विधामा तयार गरेकाछन् ।
यस फिल्ममा अभिनेत्री प्रियङ्का कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारले अभिनय गरेका छन् । यस फिल्मको सार्वजनिक ‘म ट यसै नक्कली’ बोलको गीतमा प्रियंका र दीयाले नृत्य गरेका छन् । कथक नृत्यमा ‘गोल्ड मेडलिस्ट’ रहेको दीयाले फिल्मको गीतमा छमछमी नाच्ने अवसर भने पहिलोपटक पाएकी हुन् ।
उनले भनिन्,‘मैले यसरी फिल्मको गीतमा नाच्न पाएकी थिइन् । थियटर हुँदै फिल्ममा आएकाले पनि मलाई त्यस किसिमको अफर नआएको हुन् सक्छ । तर, साथै यस किसिमको नृत्य मेरो लागि नयाँ नै हो ।’
हरर विधा रोज्नुको कारण भिन्नता र नयाँ दर्शक खोज्नु रहेको निर्देशक निरौलाले बताए । उनले भने,‘एकै किसिमको फिल्मले हाम्री उद्योगलाई रचनात्मक रुपमा सबल बनाउन सक्दैन । ‘हरर’ विधामै तयार गरेता पनि यो एउटा परिवारको कथा हो । कुकुरको निधन भएपछि आउने घटनाक्रमलाई यसमा देखाएका छौँ ।’
निर्देशक निरौलाकै लेखन रहेको फिल्ममा निशल पौडेल र शरद महतोले छायाङ्कन, दीपेश चौधरीले रङ्ग संयोजन, सुरेन महर्जनले सम्पादन गरेका छन् । फिल्म माघ २५ मा प्रदर्शन हुँदैछ ।