फिल्म । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब दुई वर्षपछि हलमा गएर नेपाली फिल्म हेरेको जानकारी दिएका छन् । विसं २०७९ मा चितवनमा ‘प्रेमगीत ३’ हेरेका उनले आइतबार साँझ कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा फिल्म ‘महाभोज’ अवलोकन गरे । माओवादी केन्द्रका अन्य नेताहरू पनि उनको साथमा थिए ।
‘महाभोज’ हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा प्रचण्डले फिल्मले नेपाली समाज, राजनीति र सहकारी आन्दोलनको यथार्थलाई साहसिक रूपमा चित्रण गरेको बताए । ‘यो फिल्मले अहिलेको नेपाली समाज, राजनीति र सहकारी आन्दोलनको यथार्थलाई साहसपूर्वक प्रस्तुत गरेको छ । म स्क्रिप्ट राइटर, निर्देशक र कलाकारहरूलाई धन्यवाद दिन चाहन्छु’, उनले भने ।
उनले आजको परिस्थितिमा यस्तो सशक्त फिल्म बनाउनु ठूलो हिम्मत भएको बताउँदै ‘महाभोज’को प्रशंसा गरे । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले फिल्म चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक भएको उल्लेख गरेका छन् ।
‘देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ’ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरूले अझै सामन्तवादविरुद्ध लड्ने साहस राख्छन् भन्ने सन्देश यो फिल्मले दिएको छ’, उनले लेखे । प्रचण्डले नयाँ पुस्तालाई फिल्म हेरेर यसको गहिरो सन्देश बुझ्न अपिल गरे ।
सहकारको रकम अपचलनको कथामा आधारित ‘महाभोज’मा मुख्य पात्र दयाहाङ राई माओवादी लडाकु पृष्ठभूमिको चरित्रमा छन् । यही कारण प्रचण्डसहित माओवादी नेताहरूले चासो देखाएपछि विशेष शो आयोजना गरिएको थियो । गत जेठमा रिलिज भएको यो फिल्मले सामाजिक मुद्दालाई उठान गरेको छ ।











