फिल्म । अभिनेत्री तथा नृत्यांगना मिथिला शर्माले गुरुपूर्णिमाको अवसरमा आफ्ना गुरुहरूको नाममा स्थापित सम्मानमार्फत नेपाल पूर्व प्रहरी कलाकार संघमार्फत विभिन्न विधाका कलाकारहरूलाई सम्मान गरेकी छन् । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजित संघको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान कार्यक्रममा शर्माले आफ्ना गुरुहरूको नाममा स्थापित सम्मान प्रदान गरिन् ।
कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठलाई ‘राजपाल थापा नृत्य साधना सम्मान २०८२’, साहित्यकार रमण घिमिरेलाई ‘चेतन कार्की गीती वाङ्मय सम्मान २०८२’, वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘गोपाल योञ्जन संगीत साधना सम्मान २०८२’ र वरिष्ठ कलाकार बसुन्धरा भुसाललाई ‘हाडा एन्ड पाल हास्य वाङ्मय सम्मान २०८२’ प्रदान गरियो ।
संगीतकार गुरुङ विदेशमा रहेकाले उनको तर्फबाट छोरा रजय गुरुङले सम्मान ग्रहण गरे । सम्मान प्रहरी महानिरीक्षक दीपक थापा, पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अभिनेता हरिहर शर्मा, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, मिथिला शर्मा, गौरी मल्ललगायतले प्रदान गरे।संघकी वरिष्ठ सल्लाहकार शर्माले कार्यक्रममा बोल्दै गुरुहरूको सम्मानमा यो कार्यक्रम आयोजना गर्न पाउँदा भावुक भएको बताइन् ।
‘मेरो अभिनय, गायन र नृत्यका गुरुहरूलाई दक्षिणास्वरुप यो सम्मान स्थापना गरेकी हुँ । चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुव रत्न हाडाको गर्विलो इतिहासलाई यो एक दिन सम्झिन्छु । आमा, बुवा र गुरुको ऋण तिर्न सकिँदैन, तर उहाँहरूको नाममा केही गर्दा आशीर्वाद प्राप्त भएको महसुस हुन्छ’, उनले भनिन् ।
प्रहरी महानिरीक्षक दीपक थापाले यो कार्यक्रम रचनात्मक र सिर्जनशील भएको उल्लेख गर्दै संगठन र व्यक्तिगत तवरबाट संघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मानित कलाकार बसुन्धरा भुसालले २०२३ सालमा प्रहरी क्लबमै आफ्नो श्रीमान्सँग भेट भएको स्मरण गर्दै सोही स्थानमा सम्मान पाउँदा भावुक भएको बताइन् ।
‘त्यतिबेला मिथिला मेरी प्रिय बाल कलाकार थिइन् । आज उनैले यो हलमा सम्मान गर्दा निकै खुशी छु । अभिनय गर्दा ‘जोकर्नी’ भन्थे, तर यो सम्मानले मलाई विशेष महसुस भएको छ । मिथिलाले दिएको यो खामलाई गुरु भेटी सम्झेर नखोली राख्छु’, उनले भनिन् । कार्यक्रममा प्रहरी कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।












