फिल्म । केही बर्षदेखि नेपाली फिल्मनगरीमा हाँस्यप्रधान विषयले दर्शकको मन जित्दै आएका छन् । दीपकराज गिरी , दीपाश्री निरौला , जितु नेपाल र केदार घिमिरेको समुहले सफलता पाउँदै गर्दा फिल्म निर्माणमा फर्किएको मह सञ्चारले पनि दर्शकको मन जितिसकेको छ । मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी मात्र होइन प्रदीप भट्टराईको ‘जात्रा’ टिम पनि सफलताका साथ् अगाडी बढिरहेका छन् । रविन्द्र सिंह बानियासंग उनले जात्रा सिरिजलाई दर्शक माँझ लोकप्रिय बनाइसकेका छन् । यसैले, पनि हाँस्य कलाकारहरुले बनाएका फिल्म भन्ने वित्तिकै सफल हुन्छन् भनेर अड्कल लगाइन्छ । किनकी माथि उल्लेखित समुहले निर्माण गरेको फिल्मले १० करोडको आसपासमा व्यापार गर्ने गरेको छ । दीपकले त आफ्नो फिल्म मार्फत नेपाली फिल्मको वजार बढाउँन समेत मदत गरेका छन् । यसै माहोलमा फिल्मनगरी रहदा यहि वर्ष दुइ हाँस्यकलाकार समुहको फिल्म आउंदैछ । शिवहरि पौड्यालको निर्देेशनमा तयार ‘लक्का जवान’ र धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ क्रमश चैत्र २१ र फागुन ९ मा रिलिज हुदैछ । यी दुइ फिल्मले कति व्यापार गर्छन यो त आउँदा दिनले नै बताउने छ । तर , अघिल्ला समुहको फिल्मको व्यापारले यिनीहरुलाई चुनौती भने पक्कै थपेको छ ।
सेन्टी भाइरस
हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ आउँदो फागुन ९ मा रिलिज हुदैछ । धुर्मुस र सुन्तलीको फिल्मलाई भने रामबाबु गुरुङले निर्देशन गरेका छन् । फिल्ममा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्म सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले फिल्मलाई खिचेका हुन् ।
लक्का जवान
चर्चित हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी फिल्म ‘लक्का जवान’ चैत्र २१ मा रिलिज हुदैछ । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको यो फिल्म ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मको सह-निर्मातामा सुरेन्द्र केसी र दीपेन्द्र खनिया छन् । ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । फिल्ममा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । ‘लक्का जवान’ मा सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिएको निर्देशक शिवहरी बताउँछन् ।










