‘मन बिनाको धन’को प्रदर्शन मिति तय

फिल्म । टंक बुढाथोकीको निर्देशन र निर्माणमा बनेको फिल्म ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्मात्री विष्णुमाया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति घोषणा गरेको हो । नेपालभित्र फिल्मको वितरण अधिकार एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले खरिद गरेका छन् ।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायतका कलाकारको अभिनय छ ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत चर्चा कमाएका थिए, जसले उनको जीवन नै परिवर्तन गरेको छ । उक्त गीतमा टंक बुढाथोकीको संगीत छ । हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत दर्जीको यो फिल्मले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । सामाजिक विषयवस्तुमा आधारित यो फिल्मको कथा टंक बुढाथोकीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार गरेका छन् ।

विष्णुमाया मैनाली निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सपना शर्मा हुन् । जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सह-निर्माता छन् । फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।

कमेन्ट गर्नुहोस्