फिल्म । अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनमोल र डेब्यु गर्ल सुहाना थापाको केमेष्ट्रीलाई देख्न सकिन्छ । हिमाली भेगको मनोरम दृश्यसँगै अमेरिकामा छायाँकन गरिएको गीतमा यी दुइको प्रेम भाव देखाइएको छ । सार्वजनिक ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको छ भने यसमा आशिष अविरलको संगीत रहेको छ । गीतका रचनाकार एक नारायण भण्डारी हुन् ।
चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् भने यसलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा अनमोल र सुहानासँगै सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काले सम्पादन गरेका छन् । टिजर सार्वजनिक गरेको केहि समयपछी टिमले गीत सार्वजनिक गरेको हो ।












