फिल्म । काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । यही पुस २५ (जनवरी ९)मा ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने कार्यक्रमको उद्देश्य नेपाल र चाइनाको सांस्कृतिक आदानप्रदान रहेको छ । चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना रहेको कार्यक्रमले दुवै देश बिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारी करणमा सहकार्य हुने लक्ष्य राखिएको छ ।
कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ । चलचित्र प्रदर्शनपछि ति चलचित्रका निर्माता,निर्देशक र कलाकारहरूले दर्शकहरूसँग अन्तर्क्रिया समेत गर्नेछन् । ती चलचित्र हरस्टोरी (निर्देशक: यीहुईसाओ), मिडसमर्स भ्वाइस (निर्देशक: युडीझाङ) र जीफर ग्याप (निर्देशक: फेईलङ) रहेका छन् ।
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रमले चलचित्र प्रदर्शन गर्ने मात्र नभएर दुई जीवन्त संस्कृतिलाई जोड्ने पुलको काम गर्ने बताए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । यसका साथै नेपाल स्थित चिनियाँ दूतावास, नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका विशिष्ट पदाधिकारीहरूले समेत सहभागिता जनाउनेछन् ।