फिल्म । रोल्पामा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आयोजना गरेको ‘वृहत चलचित्र बहस’ मा फिल्मकर्मीहरूले छायांकनको सम्भावना औलाएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायांकनका लागि रोजाइमा पर्ने तर्क बहसमा उपस्थित फिल्मकर्मीको थियो ।
शनिबार परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरिएको ‘वृहत चलचित्र बहस’ मा अभिनेता रमित ढुंगानाले कथावस्तु अनुसार छायांकनस्थलमा सम्झौता गर्नुपरेको बताए । ‘यहाँको प्राकृतिक सुन्दरताले फिल्मकर्मीलाई सजिलै लोभ्याउछ । यहाँको उचित प्रचारप्रसार भएमा फिल्मकर्मीको आँखा पक्कै पर्नेछ’, अभिनेता ढुंगानाले भने,’म यहाँ आएर फिल्मकर्मीको आँखाले धेरै दृश्य देखेको छु । माओवादी युद्धको कथामा बनेका फिल्मलाई यहाँको दृश्यले जिवन्त पार्न सक्क्छ ।’
परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले पर्दामा रोल्पा समेटीन नसक्नुमा समन्वयको अभाव खट्किएको बताए । ‘छायांकनका लागि रोल्पामा आउन चाहने निर्माता निर्देशकलाई जिल्लाका सबै पालिकाको समन्वयमा आवश्यक बजेटको व्यवस्थापन पालिकाले गर्नेछु’, अध्यक्ष बुढामगरले बताए। उनले छायांकनस्थलको रुपमा रोल्पालाई स्थापित गराउन सके स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने विश्वाश व्यक्त गरे ।
चलचित्र पत्रकार संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष शान्तिप्रियले निर्माता निर्देशकले फिल्मको कथावस्तु अनुसार छायांकनस्थल छनौट गर्न नसकेको औलाए । ‘फिल्मको कथावस्तु अनुसारका छायांकनस्थल पर्न सकेको छैन्,’ उनले भने, ‘रोल्पाजस्तो सुन्दर ठाउँ अब फिल्मकर्मीको नजरमा पर्नुपर्छ, यसका लागि फिल्मकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ।’
निर्देशक ऋषिराज आचार्यले भौगोलिक हिसावले टाढा हुँदा आर्थिक भार बढ्ने हुँदा रोल्पा छायांकनस्थल बन्न नसकेको बताए । ‘रोल्पामा छायांकनस्थल निकै सुन्दर छन्,’ उनले भने, ‘स्थानीय निकायसँगै यस्ता प्राकृतिक सुन्दरता भएका स्थललाई सरकारले नै प्रवर्द्धन गर्नुपर्छ। ‘कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा फिल्मकर्मीले छायांकनका लागि रोल्पा ‘भर्जिन ल्याण्ड’ रहेको बताएका छन्।











