फिल्म मन नपरे पैसा फिर्ता !

फिल्म । ‘गुञ्जन’ फिल्मका निर्माता हिराकृष्ण शाहीले विहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । उनले फिल्म राम्रो बनेको दाबी गर्दै निर्धक्क बोल्न सकेको बताए। शाहीले भने, ‘फिल्म हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउँछ ।’ शाहीले पैसा फिर्ताका लागि टिकटको कपीसहित आफूलाई सम्पर्क गर्न सक्ने समेत सुनाए ।

कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका मुख्य कलाकार सारा श्रीपालि, प्रितमराज सेन्चुरी, करिब खड्का लगायतको त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म प्रेमकथामा बनेको हो । फिल्मलाई अष्ट महर्जनको निर्देशन गरेका हुन् । सारा, प्रितम र कबिरको अलवा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।

विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । कार्यक्रममा निर्देशक अष्ट महर्जनले फिल्म निर्माणमा आफूले कुनै कसुर बाँकी नराखेको बताए । ‘मैले फिल्म क्षेत्रमा सिकेको सबै अनुभव फिल्ममा खन्याएको छु’ निर्देशक महर्जनले भने । डेब्यु हिरो प्रितमराजले फिल्मको कथा राम्रो भएकोले आफूले डेब्यु गरेको बताए । उनले फिल्मबाट आफू स्थापित हुने विस्वास व्यक्त गरे ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

कमेन्ट गर्नुहोस्