फिल्म । पहिलो साताको तुलनामा नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ ले बढी शोसहित दोस्रो सातामा प्रवेश पाएको छ । रसुवामा गएको भीषण बाढीपहिरोका कारण सुरुवाती प्रदर्शनमा दर्शक आकर्षित गर्न नसकेको फिल्म दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियासँगै दोस्रो सातामा बलियो सावित हुँदै प्रदर्शनरत छ ।
‘माउथ पब्लिसिटी’ बलियो सुनिएपछि सुरुवातमा न्यून सो पाएको ‘पार्वती’ले दोस्रो सातामा देशभरका हलमा १ सय १० भन्दा बढी सो प्राप्त गर्न सफल भएको छ । स्रोतका अनुसार फिल्म ‘पार्वती’ दोस्रो सातामा प्रवेश गर्दै गर्दा १ करोड १९ लाख रुपैयाँको कमाइ घरेलु बजारमा गर्न सफल भएको छ । यस्तै फिल्मलाई पहिलो सातामा ४२ हजार दर्शकले हेरिसकेका छन् ।
अटिजम प्रभावित दिदीप्रति भाइले देखाउने अगाध प्रेम र पारिवारिक सङ्घर्षमा आधारित भावुक कथावस्तु फिल्मको सफलताको मुख्य आधार बनेको छ । फिल्म हेरेर हलबाट बाहिरिने क्रममा दर्शक भावुक बनेका दृश्यहरू पनि देखिएको निर्माण पक्षले जनाएको छ । यतिबेला फिल्मका कलाकारसहित निर्माण टोली दर्शकसँग साक्षात्कार गर्न मोफसलका विभिन्न हलमा पुगेको छ ।
हरिहर अधिकारीको निर्माण रहेको ‘पार्वती’मा नीता ढुङ्गानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ । निर्देशक नीता ढुङ्गानाकै कथा तथा पटकथा र शिवम् अधिकारीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन् । फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् ।










