थियटर । रंगमञ्च (नाटक) हुँदै फिल्ममा उदाएका धेरै कलाकारहरु छन् । अभिनयलाई जीवन दिने भनिएकोले पनि थियटरमा काम गरेका अनुहारहरुले पाएको भूमिकालाई न्याय गर्ने गरेका छन् । थियटरको अर्को मज्जा भनेकै दर्शकसँग प्रत्यक्ष हुन् पाइन्छ । अभिनयलाई जीवन्त बनाउने कलाकारको लागि दर्शक समिक्षक र ऐना दुवै हुन् ।
सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, कर्मा जस्ता स्थापित नामहरुले अभिनयको प्रारम्भ रंगमञ्च मार्फत नै गरेका हुन् । यद्दपी स्थापित नाम भएपछी अभिनेत्री स्वस्तिमा खड्काले थियटरमा एक प्ले गर्दैछिन् । नारायण वाग्लेद्वारा झन्डै डेढ दशक अगाडी लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन् ।
यसबारे राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिइयो । ‘बुलबुल’बाट अभिनयको तारिफसँगै राष्ट्रिय/अन्तर्राष्ट्रय अवार्ड बटुलेकी स्वस्तिमाको यो डेब्यु नाटक हो । डेब्यु फिल्म ‘होस्टेल रिटन्स’ को समयमा उनले नाटक हेरेकी थिइन् । ‘पहिला पहिला लाइभ अभिनय हुन्छ भन्ने थाहा थिएन तर फिल्ममा काम गर्ने तय भएपछी मण्डला र शिल्पीमा नाटक हेरे’ स्वस्तिमाले भनिन् ,’त्यहिँ बेला चाहना उत्पन्न भयो र अभिनयको नयाँ आयाम सिक्न पाइन्छ भन्ने लगेर निर्णय लिएकी हुँ ।’
स्वस्तिमालाइ पहिला पनि प्रस्ताव नआएको होइन तर त्यतिबेला उनले निर्णय लिन सकिनन् र त्यो कुरा अगाडी बढेन् । उनलाई लकडाउनको समयमा समिक्षक तथा पत्रकार गोकर्ण गौतमले थियटर बारे जिज्ञाषा राखेका थिए । त्यतिबेला स्वस्तिमाले गर्ने इच्छा व्यक्त गरिन् र निर्देशक बिमल सुवेदीलाई अडिसन दिएर सेलेक्ट भइन् । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकलाई बिमलले निर्देशन गर्नेछन् । यसमा स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय गर्नेछिन् । स्वस्तिमा झैँ राजेश हमाल , नम्रता श्रेष्ठ पनि स्थापित भइसकेपछी थियटरमा प्रस्तुत भएका थिए ।