फिल्म । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको फिल्म ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ। फिल्मको छायांकन ५१ दिनमा पूरा भएको हो। फिल्मको छायांकन जेठ १५ गतेदेखि सुरु भएको थियो। धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा फिल्मको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।
निर्देशक आचार्यले गत वर्ष निर्देशन गरेको फिल्म ‘परान’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली फिल्म बनेको थियो । उनको निर्देशनमा बन्न लागेको दोस्रो फिल्म ‘चिरञ्जीवी भवः’ कस्तो हुने हो भन्नेमा दर्शकको चासो छ ।
छायांकन सकिएपछि निर्देशक आचार्यले पोस्ट प्रोडक्सनमा पनि उत्तिकै मेहनत गर्ने बताए । ‘हामीले मन खोलेर समय लगाएर फिल्मको छायांकन गरेका छौँ। अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ’, उनले भने, ‘कलाकार र प्राविधिकले जसरी छायांकनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने फिल्म लिएर आउनेछौँ।’
फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि निर्देशक आचार्यसँगै छन्। कुमारको कथामा दीपकले फिल्म निर्माण गरेका हुन्। फिल्ममा अभिनेता हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता आशीर्वाद क्षेत्री तथा मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्।
त्यस्तै, कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला ‘कक्रोज’, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल, सुमन ज्योति न्यौपानेलगायत कलाकारको पनि अभिनय रहेको छ।
कुमार कट्टेलले तयार पारेको कथामा सविन अधिकारी र वसन्त न्यौपानेले लेखन गरेका छन्। सोसल ड्रामा विधामा निर्माण भइरहेको ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ।
उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्। फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने मित्र डी. गुरुङले सम्पादन गरेका छन्। बाबु गिरीको संगीत रहेको फिल्ममा गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन्।
‘चिरञ्जीवी भवः’ आगामी २०८३ माघ १ गते अर्थात् १५ जनवरीदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई देशव्यापी वितरण गर्नेछ ।










