‘घर ज्वाइँ’ को नयाँ गीत ‘यानीमाया’ सार्वजनिक

फिल्म । मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘विन्जुरी’ को सफलता पश्चात निर्माण समूहले ‘यानीमाया’ बोलको गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा मनोज थापामगरको स्वरसँगै सङ्गीत रहेको छ भने यसका शब्द हर्क साउदले रचना गरेका हुन् । गीतमा अभिनेता दयाहाङ राई, शिशिर वाङडेल र अभिनेत्री मिरुना मगर फिचर्ड छन् ।

फिल्म यही असार २८ मा प्रदर्शन हुँदैछ । निर्देशक अनिल बुढा मगरले आफ्नो डेब्यु फिल्ममा विवाह संस्कृतिलाई प्रस्तुत गरिएको बताए । उनले भने,‘आफुलाई मन परेको महिला पात्रलाई तानेर विवाह गरेको देखेर अन्यसँग मिल्दोजुल्दो लाग्यो होला किनकि हामी आदिवासी समुदायका हरेक जातिमा यो प्रचलन समान जस्तै छ । तर, यसको प्रक्रिया र प्रस्तुती फरक छ । किनकि हाम्रो संस्कृति नै भिन्न छ ।’

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्देशक मगरसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्