फिल्म । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र लिङ्देनले नेपाली फिल्म ‘पुजार सार्की’ विभेद अन्त्यको नाममा देशलाई द्वन्द्वमा लैजानेहरूलाई हेर्न आग्रह गरेका छन् । शुक्रवार फिल्म हेरेपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले क्रान्तिकारीहरूले एक पटक हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गरेका हुन्।
‘समाजमा छुवाछूत र विभेद छ । पहिले त्यसको समाधान शस्त्र हो भन्ने भाष्य बन्यो, त्यसले देशले लामो द्वन्द्व र क्षति बेहोर्नु पर्यो । त्यो समाधान होइन है भन्ने पनि यो फिल्मले सन्देश दिएको छ’, उनले भने,‘खास गरी क्रान्तिकारी महानुभावहरू जसले देशलाई विभेद अन्त्यको नाममा द्वन्द्वमा लानुभयो, एक पटक हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गर्दछु।’
फिल्मका लेखक विकास सुवेदीले राजनीतिक स्तरबाट नै गलत भाष्यहरूलाई निर्मूल पार्दै जाने कुरामा लिङ्देनले प्रतिबद्धता जनाएको बताए । उनले भने,‘फिल्म हेरेपश्चात् मसँग कुरा गर्दै उहाँले विभिन्न धर्मशास्त्रमा उल्लेख छुवाछूत सम्बन्धी गलत भाष्यहरूलाई क्रमशः सच्याउँदै लैजानु पर्ने विचार राख्नुभएको छ । आफ्नो दलको मुख्य मुद्दा नै धार्मिक बनाउनु भएका उहाँले शास्त्रबाटै सच्याउँदै जानुपर्ने विचार राख्नु आफैमा हामीले फिल्ममार्फत दिन खोजेको सन्देशले मूर्तरूप पाउँदै जानु हो।’
गत जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ सफलतापूर्वक चौथो हप्तामा प्रदर्शन भइरहेको छ । सुवास भुसालको निर्माण तथा दिनेश राउतले निर्देशन गरेको यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ ।