फिल्म । गत वर्ष प्रदर्शन भएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको तयारी थालेका छन् । यसपटक उनले मल्टिस्टारर कलाकारसहित एक्सन फिल्म बनाउने योजना बनाएका छन् र यसका लागि कलाकार छनोटको काम तीव्र गतिमा भइरहेको छ । यसै क्रममा, अभिनेत्री पूजा शर्मा यो फिल्ममा अनुबन्धित भएकी छिन् । निर्देशक तामाङले पूजालाई उनको जन्मदिनको अवसर पारेर सम्झौता गरेका हुन् ।
पूजा शर्मा फिल्ममा आबद्ध भएपछि निर्देशक रुपेशले भने,‘मेरो कथाले पूजा शर्मालाई नै खोजेको हुनाले उहाँलाई अनुबन्धित गरेका हौं। यसपटक अघिल्ला फिल्महरूमा भएका कमजोरीलाई सुधार्दै काम गर्ने प्रयास गर्नेछु ।’
अभिनेत्री शर्माले पनि आफू फेरि एकपटक एक्सन भूमिकामा देखिन लागेकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘दान्भीको एक्सनलाई दर्शकले मन पराउनुभएको थियो। त्यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो। रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ।’
निर्देशक तामाङका अनुसार फिल्ममा अन्य कलाकारहरू पनि सरप्राइजको रूपमा रहनेछन् । फिल्मको नाम अझै तय भइसकेको छैन र केही दिनमै विकास बोर्डमा दर्ता गरेर सार्वजनिक गरिने उनले बताए । फिल्मको कथा सुमन गजमेरले लेखिरहेका छन् भने निर्माण पक्ष केही महिनाभित्र छायांकन सुरु गर्ने तयारीमा छ ।












