फिल्म । केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक फिल्म ‘मितज्यू’ को देशव्यापी अग्रिम टिकट बुकिङ खुला भएको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित तथा अनिल बुढा मगरद्वारा निर्देशित यस फिल्मले हलहरूमा सुखद सो पाएको बताइएको छ ।
आफ्नो अघिल्लो फिल्म ‘घरज्वाइँ’को सेन्सर प्रक्रियामा झन्झट भोगेको अनुभव स्मरण गर्दै निर्देशक बुढा मगरले यसपटक सहजै ‘युनिभर्सल सर्टिफिकेट’ पाउँदा सम्पूर्ण निर्माण टिम उत्साहित भएको बताएका छन्। ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस फिल्ममा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल को मुख्य भूमिका रहेको छ। चर्चित डान्सर तेरिया फौज मगरले यसै फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी छिन्। फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल र राज थापालगायत कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ।
छायांकन शिशिर बिशंखे ले गरेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका छन्। संगीतमा श्रीकृष्ण बम मल्लको योगदान रहेको छ। फिल्ममा रहेका ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ गीतहरू टिकटक र युट्युबमा अहिले नै चर्चामा रहेका छन्। आरआर फिल्म्सले फिल्मको वितरणको जिम्मा लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।












